कोरोना भाइरसको डेल्टा भेरियन्टविरुद्ध पनि खोप नै प्रभावकारी

कोभिड खोपको पूर्ण मात्रा नै भारतमा पहिले पत्ता लागेको डेल्टा भेरियन्टबाट सुरक्षित रहन सबैभन्दा प्रभावकारी तरिका रहेको बताइएको छ । अक्सफोर्ड–अस्ट्राजेनेका खोप सुरुमा कम प्रभावकारी भए पनि खोप लगाएको चारदेखि पाँच महिनापछि फाइजर–बायोएनटेक जति नै प्रभावकारी हुने एउटा अध्ययनले देखाएको छ ।

तर यी दुवै खोप अल्फा भेरिअन्टमा जस्तो डेल्टा भेरिअन्टमा प्रभावकारी नरहेको सो अध्ययनले देखाएको छ । नेपालमा पनि डेल्टा भेरिअन्ट फैलिएको छ । यहाँ अस्ट्राजेनेकाको भारतीय उत्पादन कोभिशील्ड तथा जापानले दिएको अस्ट्राजेनेका, मोडेर्ना, चिनियाँ भेरोसेल र जोनसन एन्ड जोनसनका खोप दिइएको छ । मोडेर्ना खोपको पनि यस सम्बन्धमा यथेष्ट तथ्याङ्क नभएको बताइएको छ ।

तर अध्ययनकर्ताहरूले मोडेर्ना खोप पनि कम्तीमा अन्य खोप जत्तिकै प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । सो निष्कर्ष सात लाख ४३ हजारभन्दा बढी व्यक्तिको २५ लाख परीक्षण नतिजाको अध्ययनबाट निकालिएको हो । अक्सफर्ड विश्वविद्यालय र यूकेको राष्ट्रिय तथ्याङ्क कार्यालयले संयुक्त रूपमा कोभिड–१९ हाउसहोल्ड इन्फेक्शन सर्भे गरेको थियो ।

खोपको दोस्रो मात्रा लगाएको दुई सातापछि फाइजर ९३ प्रतिशत प्रभावकारी रहेको र अस्ट्राजेनेका ७१ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । तर समय बित्दै जाँदा फाइजरको प्रभावकारिता कम हुँदै गएको तर अस्ट्राजेनेकाको उस्तै रहेको अध्ययनले देखाएको छ । अक्सफर्ड विश्वविद्यालयकी प्राध्यापक सारा वाकरले यो निष्कर्षले तर्सिनु नपर्ने बताएकी छन् ।

उनले भनिन्, ‘धेरै माथिबाट सुरु गर्दा लामो बाटो जानुपर्ने हुन्छ। विश्व स्वास्थ्य सङ्गठनले प्रभावकारिताको सीमा ५० प्रतिशत राख्छ र हामी त्योभन्दा धेरै माथि छौँ।’ यी दुवै खोपले डेल्टाविरुद्ध पनि राम्रो काम गरिरहेका छन्।

सङ्क्रमित व्यक्तिले खोप लगाएपछि अझ बढी एन्टिबडीहरू बनाउने, पहिलो र दोस्रो मात्रा खोपबीचको अवधिले खोपको प्रभावकारितालाई फरक नपर्ने र वृद्धहरूमा भन्दा युवाहरू खोपले बढी सुरक्षित हुने अध्ययनको निष्कर्ष छ । अध्ययनका निष्कर्षहरू यसअघिका अन्य अध्ययनहरूसँग मिल्दोजुल्दो छ। डेल्टा भेरियन्टले सङ्क्रमण भएका व्यक्तिमा खोप लगाए पनि नलगाए पनि भाइरसको लोड उत्तिकै हुन्छ ।

तर अल्फा भेरियन्टको सङ्क्रमणमा भने खोप लगाएको व्यक्ति सङ्क्रमित हुँदा भाइरल लोड निकै कम हुन्छ । ‘हामीलाई अझै पनि खोप लगाएपछि सङ्क्रमित भएका व्यक्तिले कति भाइरस सार्न सक्छन् भन्ने थाहा छैन,’ प्राध्यापक वाकरले भनिन् । उदाहरणका लागि भाइरल लोड धेरै हुँदा सार्न सक्ने सम्भावना पनि बढी हुन्छ। अध्ययनको निष्कर्षले सकेसम्म धेरै मानिसहरूलाई खोप दिनुपर्ने देखाउँछ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: