मङ्गलबार, बैशाख ०४, २०८१

माधव नेपाल पक्षद्वारा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन, चुनाव चिन्ह खुला किताब

काठमाडौं । लामो समयको विवादपछि अन्ततः नेकपा एमाले विभाजन भएको छ । बुधबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको केन्द्रीय सदस्य रामकुमारी झाक्रीले जानकारी दिएकी छन् । उनकाअनुसार नेपाल पक्षले नेकपा एमाले समाजवादी नामक दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो। ।

निवेदनमा पार्टीको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ । नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् । त्यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ । सोही अध्यादेशको जगमा एमाले विभाजित बनेको हो । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।