बिहिबार, बैशाख ०६, २०८१

कम्युनिष्ट एकताको झण्डा उठाउने र कम्युनिष्ट एकता गरी छाड्ने संकल्पबाट पछि हट्न सकिदैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र सिद्धान्त, निष्ठा र वर्गप्रति समर्पित पार्टी भएको बताएका छन् । सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा बुधबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यसका लागि सवैले आत्मसमीक्षा गर्ने बेला भएको बताएाक हुन् ।

उनले भने, ‘व्यक्तिवादी धेरथोर हामी सबै भएका छौं, सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला भएको छ । यो हाम्रो सिद्धान्त, निष्ठा र वर्गप्रति समर्पित पार्टी हो, यसको सिद्धान्त अरूसँग मिल्दैन ।’

उनले क्रान्ति एउटा लामो सिद्धान्त भएको उल्लेख गर्दै यसबारे संश्लेषणमा कम ध्यान गएको बताए । अध्यक्ष प्रचण्डले हजारौं सहिदहरुको सपना साकार पार्न अन्तिम समयसम्म लड्ने प्रतिवद्धता व्यक्त गरे । उनले कम्युनिष्ट एकता आजको आवश्यकता रहेको भन्दै सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिष्ट एकताको झण्डा उठाउने र कम्युनिष्ट एकता गरी छाड्ने संकल्पबाट पछि हट्न नसकिने बताए । पार्टी यथास्थितिमा रहे विघटन र विसर्जनको खतरामा पर्ने डर रहेको उनको भनाई थियो ।

नेपालका लागि मात्रै नभइ अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका लागि पनि विचार दिन सक्ने गरी पार्टीलाई अघि बढाउनुपर्नेमा उनको जोड थियो । यसका लागि पार्टीलाई तल्लो तहबाटै बलियो बनाउन उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

अध्यक्ष प्रचण्डले शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि माओवादीको क्रान्तिकारी चरित्र र संस्कार उल्टो बनेको बताए । प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्र एउटा प्रवृत्ति चरम निरंकुशतावादी, फाँसीवादी र आत्मसमर्पणवादी देखिएकाले त्यसविरुद्ध आन्दोलन गर्नुपरेको स्मरण गर्दै भने, ‘क्रान्तिकारीहरुले संकल्प गरेपछि हुँदोरहेछ भन्ने अहिलेको उदाहरण हो । प्रतिगमन सच्चिएको छ । तर अन्तिम विजय भने होइन ।’