शुक्रबार, बैशाख ०७, २०८१

नेता कार्यकर्तालाई उत्साहित भएर संगठन विस्तारमा लाग्न माधव नेपालको निर्देशन

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेका निर्णयहरु फिर्ता लिए अझै पार्टी एकता हुने बताएका छन् । मंगलबार काठमाडौंमा जनवर्गीय संगठनले गरेको कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आत्मालोचना गरी एकलौटी गरेका निर्णय फिर्ता लिए पार्टी एकता हुनसक्ने बताएका हुन् ।

उनले ओली नसच्चिए पार्टी पुनर्गठन गर्ने बताए । उनले नयाँ पार्टी खोली हालेपनि एकताको ढोका भने आफूहरुले बन्द नगर्ने बताए । उनले नेता कार्यकर्तालाई गाउँ गाउँमा कमिटी गठन गरी संगठन विस्तार गर्न निर्देशन दिए ।

उनले भने, ‘ ओलीले गरेका सबै निर्णय फिर्ता लिए पाटी एकता हुन्छ । पार्टीलाई पुनर्गठन गर्ने अवस्थामा पुगेकाले पुनर्गठन गर्न खोजेका हौं । लोकतन्त्रको भण्डा बुलन्द गर्छौं । नेपाली जनताको प्यारो शक्तिका रुपमा स्थापित गर्नेछौं । अरुपार्टीसँग सहकार्य गर्छौ । बामपन्थी शक्तिसँग एकताको प्रयास गर्नेछौं । यी कारबाही सारबाहीबाट विचलित हुनेछैनौं । पार्टी खोलिहाल्यौं भने पनि ओली सच्चिए भने एकताको ढोका खुल्लै हुनेछ । तर सर्त हुन्छ सही विचारमा एकता हुनेछ ।’

नेता नेपालले नेता कार्यकर्तालाई निरुत्साहित नभई उत्साहित भएर संगठन विस्तारमा लाग्न निर्देशन दिए । उनले ओलीका कारण पार्टी ओली कम्पनी प्राइभेट लिमिटेड भएकाले आफूहरु पुनर्गठनमा लागेको बताए । नेता नेपालले ओली पार्टी एकता नभई विभाजनमा लागेको आरोप लगाए ।

उनले भने, ‘एमाले विभाजनको मोडमा पुगेको छ । त्यसमा ओली लाग्नुभएको छ । उहाँले एकतावद्ध गर्न नचाहेको हो। ओलीजी अहंकारको घोडामा सवार हुनुहुन्छ । एकतावद्ध गतीशील बनाउने कुरामा सवै कार्यकर्तामा न्यायको अनुभूति दिलाउने कुरामा उहाँको ध्यान गएन । उहाँको ध्यान सानो गुट मदन भण्डारी फाउण्डेनमा मात्र गएको छ । उहाँलाई पार्टीको चिन्ता छैन गुटको चिन्ता छ । आफनो पद जोगाउन मात्र लाग्नु भएको छ । उहाँका प्रत्येक तर्क र विश्लेषण सुन्नु भयो भने उहाँमा आत्मालोचना गर्ने प्रवृत्ति छैन । पछाडि फर्केर हेर्ने प्रवृत्ति छैन । अरुलाई दोष देखाउने मात्र चरित्र छ । सबैर्लाई होच्याउने र सर्वाधिकार ठान्ने सोच छ । यो प्रवृत्तिबाट पार्टी गुज्रिरहेको छ ।’

उनले पार्टी अध्यक्षकै कारण कम्युनिष्ट आन्दोलनले योग्यता देखाउने अवसर गुमेको, दुई तिहाइको पार्टी ८३ भन्दा कममा खुम्चिएको बताए । उनले के कारणले गर्दा सहयोद्धाहरु टाढिन पुगे भन्ने समीक्षा नगर्दा समस्या भएके बताए । उनले अध्यक्षले देशलाई भ्रष्टाचारमा डुबाउने काम गरेको, विदेशीसामु लम्पसार परेको र देशभक्तिको झण्डा फालेको आरोप लगाए ।