अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित गर्ने एमालेको ठहर

काठमाडौं । नेकपा एमालेले सरकारले ल्याउन खोजेको दल विभाजनसम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । मंगलबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको स्थायी कमिटी बैठकले गठबन्धन सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेकोप्रति आपत्ति जनाउँदै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।

अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित र संकटतिर धकेल्ने भन्दै एमालेले यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

उनले पार्टी विभाजित गर्ने षड्यन्त्रविरुद्ध दृढतापूर्वक उभिन पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई बैठकले आह्वान गरेको छ । उनले भने, ‘संसद अधिवेशनलाई आकस्मिक रुपले अन्त्य गरेर पार्टी विभाजनका लागि अध्यादेश ल्याउने, प्रमुख प्रतिपक्षी दल भित्रका केही अराजक र पदलोलुप व्यक्तिहरुलाई विभाजनका लागि वैधानिक आधार प्रदान गर्ने, र लोकतान्त्रिक प्रणालीभित्र चरम विकृति र भ्रष्टता भित्राउने जुन तयारी गरिदैैँछ, यो विषय अत्यन्त आपत्तिजनक, निन्दनीय र अस्वीकार्य छ । हाम्रो पार्टी गठबन्धन सरकारका यस्ता असंसदीय, अलोकतान्त्रिक र विभाजनकारी योजनाप्रति विरोध प्रकट गर्दछ ।’

त्यसैगरी बैठकले अफगानिस्तान घटनाप्रति नेपाल सरकार किंकर्तव्यविमुढ, उदासिन र गैरजिम्मेवार देखिएको निष्कर्ष निकाल्दै अफगानिस्तानमा रहेका नेपालीहरुलाई शिघ्र र सुरक्षित रुपले स्वदेश फिर्ता गराउन माग पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: