असोजसम्म थप एक करोड डोज खोप आउँछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड– १९ ले सामाजिक र आर्थिक क्षेत्रमा प्रभाव पारेको र त्यसको न्यूनीकरणका लागि सरकारले योजना ल्याउने बताएका छन् ।

कान्तिपुर इकोनमिक समिट, २०२१ लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको बताएका छन् ।

उनले पूर्ण मात्रामा खोप लगाएको जनसंख्या ३२ लाख पुगेको र हाल नेपालमा १ करोड १८ लाख मात्रा खोप मौज्दात रहेको जानकारी दिए । उनले भने, ‘सप्ताहान्तसम्म पूर्ण मात्रामा खोप लगाएका ३२ लाख सहित कुल ७८ लाख जनाले कम्तिमा खोपको पहिलो डोज लगाएका छन् भने दिनको ३ लाख ६७ हजार जना सम्मलाई खोप लगाउन सकिएको अवस्था बनेको छ । हाल आइसकेको १ करोड ८ लाख खोप बाहेक यो असोजसम्म कम्तिमा अर्को १ करोड खोप मुलुकमा आउने भएको छ । यसवाहेक आगामी चैतसम्म सरकारले खोप लगाउन उपयुक्त सवै जनतालाई खोप लगाएर सक्ने प्रण गरेको छ। यसका अतिरिक्त अबको हाम्रो कोभिड विरुद्धको रणनीति विज्ञानमा, स्वास्थ्य क्षेत्रका विज्ञहरुको सल्लाहमा आधारित हुनेछ भन्नेमा पनि म सरकार प्रमुखको हैसियतले सवैलाई विश्वस्त गराउन चाहन्छु।’

उनले तत्कालका लागि खोपको व्यवस्थापन र आर्थिक अवस्थाको उत्थान सरकारको प्राथमिकता रहेको बताए । महामारीले पर्यटन र यातायात क्षेत्रमा, पार्टी प्यालेस र डिपार्टमेन्टल स्टोर लगायतको व्यापार व्यवसायमा संलग्न प्रभावित भएको भन्दै प्रधानमन्त्रीले ती क्षेत्रका मान्छेलाई खोपमा प्राथिमकता दिनुका साथै ती व्यवसायको उत्थानका लागि सरकार अगाडि आउने बताए । साथै सरकारले विभिन्न वर्गलाई रोजगारीका विभिन्न क्षेत्रमा लगाउने र स्रोतहरूको कार्यान्वयमा लगाउने पनि उनले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: