शुक्रबार, चैत १६, २०८०

एनआरएन द सिङ्गरको भव्य उद्घाटन, आइतबारदेखि डिजिटल अडिशन शुरु

जापान । विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न  गैरआवासीय नेपाली संघले आयोजना गरेको ‘एनआरएन द सिङ्गर’को भव्य उद्घाटन भएको छ ।

आइतबार भर्चुएल माध्यमबाट आयोजित समारोहमा संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले भने,  ‘यो कार्यक्रम विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु।’ संस्कृति तथा सम्पदा उप-समितिका संयोजक गोविन्द प्रसाद गौतमले यो कार्यक्रम सफल बनाउनका लागि देशविदेशका सबै नेपालीको साथ र सहयोगको अपेक्षा गर्नुभयो। उहाँले यो प्रतियोगिता अन्तराष्ट्रिय स्तरको हुने बताए।

प्रिअडिसनपछि नेपाली टेलिभीजनबाट पनि यो कार्यक्रम प्रसारण हुनेछ। प्रतियोगिताका केही इपिसोडहरू नेपालमा पनि हुनेछन्। ‘तर त्यसका लागि अवस्था पनि हेर्नुपर्ने हुन्छ। त्यो बेलासम्म महामारीको अवस्था कस्तो हुन्छ त्यसअनुसार पनि निर्णय हुनेछ । कति अडिसन भर्चुअल गर्ने र कति भौतिक रुपमै गर्ने भन्नेकुरा त्यही अवस्थाअनुसार हुनेछ,’ गौतमले भने।

ऐतिहासिक कार्यक्रम
निर्णायक समितिका प्रमुख निर्णायक शम्भुजीत बास्कोटाले सबै नेपालीको साथ र सहयोगबाट एनआरएनएको यो ऐतिहासिक सांगीतिक कार्यक्रम सफल हुने विश्वास व्यक्त्त गरे।

एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले विदेशमा पनि ठूलो नेपाल छ, नेपाली छन्, भाषा, साहित्य र संस्कृति छ भन्ने कुरा दर्शाउन यो कार्यक्रमले इंटा थप्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा निर्णायक शम्भु राई, आइसीसी सदस्य तृष्णा शर्मा लगायतले शुभकामना दिएका थिए । उद्घाटनपछि प्रिअडिसन आइतबारदेखि खुला भइसकेको छ।

डायस्पोराका नेपालीभाषी अग्रज र अनुजका स्वर प्रतिभाहरू पहिचान गर्ने उद्देश्यले टेलिभीजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ सुरू गरेको हो। कार्यक्रममा प्रथम पुरस्कार १५ लाख रुपैयाँ, द्वीतीय पुरस्कार ७ लाख रुपैयाँ र तृतीय पुरस्कार  ४ लाख रुपैयाँ तोकिएको आयोजकहरुले जनाएका छन्।

‘एनआरएन द सिङ्गर’ नामको मोबाइल एपमा डाउनलोड गरेर प्रतियोगीले त्यसैमा आफ्नो गीतको भिडियो राख्न सक्नेछन्। भिडियो फाइल र त्यसको लिंकसमेत एपमा राख्न सकिनेछ। यो एपमा कार्यक्रमका बारेमा जानकारी पनि हुनेछ भने प्रतियोगीका लागि भोटिङका लागि पनि यो एप प्रयोग हुनेछ।

‘खोजी : एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन्।

वरिष्ठ संगीतकार तथा निर्णायक मण्डलका प्रमुख निर्णायक शम्भुजीत बास्कोटाले विश्व भरि छरिएका नेपाली संगीतकर्मी, कलाकारहरुलाई कार्यक्रममा जोड्न सुझाव दिंदै यो कार्यक्रमले नेपाली कला क्षेत्रलाई माथि पुराउने, र नेपाली भाषीहरुलाई नेपाली गीत, संगीत सिक्न प्रोत्साहित गर्ने अपेक्षा पनि व्यक्त गरे।

कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाको मूल आयोजक समितिका हिक्मत थापा, गोविन्द प्रसाद गौतम,  गणेशराज गौतम, रमण झा लगायतले जवाफ दिएका थिए।

यो कार्यक्रमको सह उत्पादन टेक क्राफ्ट अस्ट्रेलियाले गरिरहेको छ भने सुवि टेक्नोलोजी प्रविधि पार्टनरको रुपमा रहेको छ।

संस्कृति तथा सम्पदा उपसमितिको संयोजक गोविन्द प्रसाद गौतमले कार्यक्रमको  सभापतित्व गरेका थिए भने कार्यक्रमको संचालन मूल आयोजक समितिका सचिव खड्ग न्यौपानेले गरेका थिए।

सहभागीका लागि नियमहरू
यो प्रतियोगितामा भाग लिने सहभागीका लागि नियमहरू यसप्रकार छन् :
1.​गीत नेपाली भाषामा हुनुपर्नेछ।
2.​गीतका प्रकारहरू : लोक, आधुनिक, झ्याउरे, सोरठी, देउडा, मारुनी, काठे भाका, असारे, रोधी, फिल्मी गीत, देशभक्ति वा पप गीत गाउनुपर्नेछ ।
3.​प्रतियोगीले www.nrnthesingers.com मा गएर आवेदन दर्ता फाराम अनिवार्य भर्नुपर्नेछ।
4.​गैरआवासीय नेपालीहरू, NRN विधानअनुसार विदेशी मूलका नेपालीहरू र नेपाली भाषीहरूले भाग लिन पाउनेछन्।
5.​घर विदामा नेपाल बसेका गैरआवासीय प्रतिभाहरूको हकमा उनीहरूको सम्बन्धित देशको परिचयपत्र(ID card) प्रमाणित भए मात्रै भाग लिन पाउनेछन्।
6.​१५ वर्षभन्दा माथि उमेर भएकाहरूले मात्रै प्रतियोगितामा भाग लिन पाउनेछन्।
7.​गीतको भिडियो (portrait/vertical) नभइ तेर्सो(landscape/Horizontal) हुनुपर्नेछ।
8.​भिडियो गुणस्तर (Quality) न्यूनतम HD अथवा 1080p मा मात्रै पठाउनुपर्नेछ।
9.​पहिलो गायन परीक्षण(pre-audition) बिना बाजा, बाजा वा दुबै प्रयोग गर्न सकिनेछ।
10.​गायन परीक्षणको (pre-audition)का लागि एक स्थायी र एक अन्तरा अनिवार्य गाउनुपर्नेछ।
11.​भिडियोमा ब्याकग्राउन्ड साउन्ड हुनुहुँदैन।
12.​एपबाट बाहेक अन्य माध्यमबाट आएका भिडियोहरूलाई समावेश गरिने छैन।
13.​भिडियो डे लाइटमा खिच्नुपर्नेछ।