शनिबार, बैशाख ०८, २०८१

भूपू गोर्खा सैनिकप्रति बेलायती सरकारले पक्षपातपूर्ण ब्यवहार गर्नु नहुने धारणा

लन्डन । प्रवासी नेपाली मञ्च युकेले आमरण अनसनमा बसिरहेका भूपू गोर्खा सैनिकका समान पेन्सन लगायतका मागहरू पूरा गराउन जोड दिएको छ ।

सङ्गठनका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष तथा प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष भक्त गुरुङको नेतृत्वमा संगठनका पदाधिकारीहरूको एक प्रतिनिधि मण्डलले बेलायतका प्रधानमन्त्रीको कार्यालय अगाडि अनसन बसिरहेका सत्याग्रही नेतृत्वकर्ता ज्ञानराज राईलगायतका अनसनकारीहरूलाई भेटी आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको थियो ।
उक्त अवसरमा सत्याग्रह आन्दोलनका संयोजक कृष्ण राईलाई अध्यक्ष भक्त गुरुङले सङ्गठनको तर्फबाट ऐक्यवद्धता पत्र हस्तान्तरण गर्नुहुँदै भूपु गोरखा सैनिकहरूका मागहरू नितान्त जायज रहेको बेलायत सरकारले अविलम्व यी मागहरू पूरा गरोस् भन्ने चाहना बेलायतका आम जनसमाजको रहेको चर्चा गर्नु भयो ।

अध्यक्ष गुरुङले सत्याग्रहीमाथि कुनै पनि किसिमको प्रहरी हस्तक्षेप र बलको प्रयोग सैह्य नहुने चर्चा गर्नुहँदै प्रहरीका यस्ता मानव अधिकारविरोधी कार्यप्रति विरोध जनाउनुभयो  ।

अर्का वक्ता संगठनका पूर्व अध्यक्ष दिनेश घिमिरेले यो देशको सुरक्षाका लागि जीवनको बलिदान दिन समर्पित भूपू गोरखाहरूका जायज मागहरू बेलायत सरकारले विना हिच्किचाहट यथाशीघ्र पूरा गर्नु पर्दछ भन्नुहुँदै सत्याग्रह आन्दोलनको पक्षमा बेलायती जनसमाजको समेत समर्थन रहेका चर्चा गर्नु भयो ।

यसैगरी महासचिव सुरेशजङ्ग शाहले गोरखा सैनिकहरूको योगदानले यो माटो र मुटुसँग सम्बन्ध राखेको चर्चा गर्नु हुँदै भूपू गोरखाहरूप्रति बेलायती सरकारले पक्षपातपूर्ण ब्यवहार गर्नु नहुने आमजनसमाजको धारणा रहेको विचार ब्यक्त गर्नु भयो ।

उक्त अवसरमा आन्दोलनका संयोजक कृष्ण राईले भूपू गोरखा सैनिकहरूका समस्या र सत्याग्रह आन्दोलनको उद्देश्य बारे जानकारी दिनु भएको थियो ।

ऐक्यवद्धता प्रतिनिधि टोलीमा सहभागिता राख्नुहुने अन्य केन्द्रीय पदाधिकारीहरूमा उपाध्यक्ष सरस्वती केसी, उपाध्यक्ष तुङ्गभद्र भुषाल, कोषाध्यक्ष पुन्य रेग्मी, विभागीय प्रमुखहरू जीवन सेन, बालकृष्ण भुषाल, ह्यारी गुरुङ, केन्द्रीय सदस्यहरू प्रकाश कँडेल, प्रेम गुरुङ र क्षेत्रीय सदस्य भिमलाल भट्टराई लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
ऐक्यवद्धता कार्यक्रमपश्चात सोही मागलाई सरकारी स्तरबाट कुटनीतिक पहलका लागि अध्यक्ष भक्त गुरुङको नेतृत्वमा गएको प्रवासी नेपाली मञ्च युकेको उक्त प्रतिनिधि मण्डल नेपाली राजदूतावासमा गई राजदूत लोकदर्शन रेग्मीलाई ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्र ग्रहण गर्नुहुँदै राजदूत रेग्मीले यी सबै विषयहरूमा आफ्नो कुटनीतिक पहल भइरहेको र सक्दो प्रयास गर्ने प्रतिवद्धता प्रकट गर्नु भयो ।

राजदूत रेग्मीले बेलायतमा रहेका नेपाली जन समाजका समस्याहरूमा जहिले पनि राजदूतावास सहयोगी रहने चर्चा गर्नुहुँदै यहाँको जनसमाज रसंघसंगठनहरूसँगै दूतासले सहकार्य गरेर नेपालको विभिन्न क्षेत्रको विकासका लागि सक्दो सहयोग जुटाउन चाहेको विचार व्यक्त गर्नु भयो ।