शुक्रबार, चैत १६, २०८०

मोडेर्नाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता

काठमाडौं । नेपालले कोभिड विरुद्धको मोडेर्ना खोपको ४० लाख डोज खरिद गर्नका लागि सम्झौता गरेको विश्व बैंकले जनाएको छ । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको बताइएको छ ।

विश्व बैंकले शुक्रवार जारी गरेको विज्ञप्तिका अनुसार यो सम्झौतासँगै नेपालको कोभिड–१९ विरुद्धको खोपका लागि पुँजीको विविधीकरण र सुदृढीकरण भएको छ । उक्त खोप नेपालमा सन् २०२२ को मार्च महिनासम्म आउने अपेक्षा गरिएको बताइएको छ ।

उक्त खोपले नेपालका ७२ प्रतिशत जनसङ्ख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले विज्ञप्तिमा भनेका छन्, ‘कोभ्याक्स सुविधामार्फत कोभिड विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिद गर्नका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।’