शनिबार, बैशाख ०८, २०८१

ओलीबारे मातृका यादवको टिप्पणी संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

सभामुखले मातृका यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

शुक्रबारको बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । उनले हिजोको बैठकमा एक जना माननीय सदस्यले संसदीय गरिमामा गम्भीर आँच पुग्ने गरी अर्को सदस्यलाई आरोप लगाएर असंसदीय शब्द प्रयोग गरेको भन्दै अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए ।

उनले भने, ‘संसद जथाभावी शब्द प्रयोग गर्ने ठाउँ होइन । यो ठाउँमा जसरी शब्दहरू प्रयोग गरियो त्यो गाली गलोज संसदको गरिमा होइन।’

सरकार बनाउने र कसैलाई हटाउने शक्ति जनतामा मात्रै रहेको भन्दै उनले अहिले अनपेक्षित रुपमा सर्वोच्चको फैसलाले मात्रै केपी ओलीलाई हटाइएको भट्टराईले बताए । उनको मागपछि सभामुख अग्नि सापकोटाले मातृकाको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए । यादवले बिहीबार ओलीमा मानसिक र शारीरिक समस्या रहेको विवादित अभिव्यक्ति दिएका थिए ।