शुक्रबार, बैशाख ०७, २०८१

श्वेतपत्रको तथ्यांकमा फरक भए कठघरामा उभिन तयार छुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन् । बिहीवार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदहरुको प्रश्नको उत्तर दिँदै अर्थमन्त्री शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह, पूर्वाग्रह र तथ्यांकमा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताए ।

उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामसहितको विकासको उल्लेख गरिएको बताए । उनले यसमा कुनै आग्रहको गन्ध नभेटिने पनि प्रष्ट पारे ।

उनले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट प्रस्तुत गरिएको बताए । बजेटको बारेमा संसोधन, परिमार्जन र प्रतिस्थापन जस्ता कुरा संसदले गर्ने बताए ।

आग्रह र पूर्वाग्रहमा निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा यो सरकारले बजेट विनियोजन नगर्ने स्पष्ट गरे । उनले राष्ट्रिय गौरवका योजनाहरु निरन्तर रुपमा अघि बढिरहने भन्दै उनले प्रदेश, पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने बताए । उनले मानव सूचाङ्क विकसित नभएका कर्णाली, प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा विशेष महत्व दिइने बताए ।