मङ्गलबार, बैशाख ०४, २०८१

लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै

घोराही । लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै छ । मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो तीन बजेसम्मको समय दिएर सरकारमा दाबी पेस गर्न भनेका थिए ।

कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । कांग्रेस र माओवादीबीच आठ-आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सोही सहमति अनुसार सुरुको आठ महिनाका लागि माओवादी नेता केसीलाई अघि सारिएको हो ।

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो । तर प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आहृवान गरेका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग गर्दै अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा छलफल गर्नका लागि प्रदेश प्रमुख शेरचनले साउन २७ गते विशेष अधिवेशन आह्वान गरेका थिए ।

विशेष अधिवेशन आह्वान नै गलत भएको जिकीर गर्दै लुम्बिनी प्रदेशका सांसद लीला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर रिटमाथि सुनुवाइ भएकै दिन प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल भयो । तर अविश्वास प्रस्ताव टुंगो नलाग्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् ।

सर्वोच्चले यस मुद्दामा प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालयलगायतका विपक्षीसँग लिखित जवाफ माग गरेको छ र रिटलाई संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरेको छ ।