लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्धको रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशको विवाद संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको छ । बुधबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव र प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्ध परेको मुद्दाको सुनुवाइ अब संवैधानिक इजलासमा हुने आदेश जारी गरेको हो ।

इजलासले यसमा गम्भीर संवैधानिक व्याख्या आवश्यक पर्ने भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो । विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको भन्दै अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले बुधबारका लागि विशेष अधिवेशन आह्वान गरेका थिए । एमाले लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरीले दायर गरेको रिटमा प्रदेश प्रमुखले प्रदेश अधिवेशन आह्वान गर्नु असंवैधानिक भएको दाबी गरिएको थियो ।

निवेदकको माग बमोजिम अदालतले अन्तरिम आदेश भने दिएन । यता, बुधबार लुम्बिनी प्रदेश सभा विशेष अधिवेशन सुरु भइसकेको छ भने त्यसअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिइसकेका छन्।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: