शनिबार, बैशाख ०८, २०८१

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । बुधबार प्रदेश सभामा अविश्वासको प्रस्तावमाथि छलफल हुनु अगाडि नै मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख कार्यालयमा पुगेर राजीनामा बुझाएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिएका छन् । उनको राजीनामा माग गर्दै प्रदेश सभामा ४१ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

आज प्रदेश सभाको विशेष अधिवेशन बस्ने कार्यक्रम तय भएको थियो । राजीनामा दिनुअघि बिहान आफु निकट सांसदहरुसँग अलग्गै र त्यसपछि पार्टी संसदीय दलको बैठक राखेर सबैलाई धन्यवाद दिदै मुख्यमन्त्री पोखरेलले आफूले राजीनामा दिने जानकारी दिएका थिए ।

२०७४ फागुन ३ गते पहिलो पटक दुई दलको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेल २०७८वैैसाख १९ गते एमालेको एकल बहुमत पुर्याएर पुनः मुख्यमन्त्री बनेका थिए। अब लुम्विनी प्रदेशको मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका नेता कुल प्रसाद केसी बन्नेछन् ।

पछिल्लो पटक मुख्यमन्त्री बने सँगै राजनीतिक उतारचढावका कारण गृह जिल्ला दाङबाट निर्वाचित एमालेकै सांसदहरुले धोका दिएपछि उनको कार्यकाल सुखद हुन सकेन ।

मुख्यमन्त्रीको रुपमा ३ वर्ष ८ महिनाको कार्यकाल पुरा गरेका पोखरेलले अदालतबाट समेत साथ नपाउने अवस्था र सदनमा समेत अल्पमतमा पर्ने निश्चित भएपछि राजीनामा दिएर नयाँ सरकारको बाटो खोलिदिएका छन् ।