मन्त्रिपरिषद बैठकद्वारा कर्मचारीको नयाँ तलबमान स्वीकृत, गृहसचिवमा टेकनारायण पाण्डे

काठमाडौं । सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कर्मचारीको तलबमान स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

सरकारले साउन एक गतेदेखि सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीको तलब बढाएको थियो ।

बैठकले गृह मन्त्रालय र रक्षा मन्त्रालयमा सचिव सरुवा गरेको छ । गृहमा महेश्वर न्यौपानेको ठाउँमा टेकनारायण पाण्डेलाई सरुवा गरिएको छ । भूमि,व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका पाण्डेलाई गृहमा लगिएको हो । यस्तै, रक्षा सचिवको जिम्मेवारी देवेन्द्र शर्मा पौडेललाई दिइएको छ। उनी यसअघि वित्त आयोगमा थिए ।

यसैगरी, प्रदेश १ को प्रमुख सचिव सुमनराज अर्यालको पनि सरुवा भएको छ। उनलाई महालेखा परीक्षकको कार्यालय सरुवा गरिएको छ । यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई सरुवा गरी भूमि व्यवस्था मन्त्रालयमा ल्याइएको छ ।

बैठकले परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरु सुशील भट्टराई, घनश्याम लम्साल, तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्राङ्कित प्रथम श्रेणीको बढुवा नियुक्ति दिई परराष्ट्र सेवा अन्तर्गत पदस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै माथिल्लो त्रिशुली जलविद्युत आयोजना जग्गा प्राप्तिका गर्ने र प्रारम्भिक आयोजना चलाउन सोही आयोजनाका सहायक प्रशासक कमलबहादुर बोगटीलाई अधिकारी तोक्ने निर्णय गरेको छ । सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ संशोधन मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने बैठकले निर्णय गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: