बुधबार, बैशाख १२, २०८१

जसपाका तीन सांसदको रिटमाथि सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का तीन सांसद सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेले दायर गरेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएपछि उनीहरूलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेका थिए । अदालतले तीन सांसदका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार संकटमा परेको छ ।

विपक्षी गठबन्धनले गत सोमबार नै बहुमतीय सरकार गठनका लागि ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाइसकेको छ ।

लुम्बिनी प्रदेश सभामा ८० सांसद छन्। जसमध्ये मुख्यमन्त्रीको पक्षमा ३९ जना सांसदमात्रै छन् । विपक्षी गठबन्धनमा सभामुखसहित ४१ जना रहेका छन्। प्रदेश प्रमुख शेरचनले प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गतेलाई आह्वान गरिसकेका छन्।