मङ्गलबार, बैशाख ०४, २०८१

सुकुम्वासी समस्या समाधानका लागि भूमिसुधार लागू गर्न वामदेवको सुझाव

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भूमिसुधार लागू गरेर सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्नुपर्ने बताएका छन् । आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले जमिन बाँडेर भूमिहीनको समस्या समाधान नहुने भएकाले भूमिसुधार लागू गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘भूमिलाई टुक्राएर बाँड्ने अवस्थामा जानु हुन्न । भूमिसुधार लागू गरौं । त्यसबाट हामीले कति जमिन प्राप्त गर्छौ अनि भूमिहीनलाई जमिन बाँड्न सकिन्छ । तर भूमिहीनलाई जमिन दिएर समस्या समाधान हुँदैन ?२८ वर्षसम्म हामीले किन समस्या समाधान गर्न सकेनौं ? आयोग विघटन र फेरि गठनको कुरा आएको छ । कसरी भूमिहीन जन्मिए ? यसको कारणमा जानुपर्छ । जमिनमाथि व्यक्तिको स्वामित्वका कारण यो समस्या आएको हो । सरकारले यो जमिन चलन चल्तीको मूल्यमा किनेर आफ्नो बनाओस् । सरकारको अधिकार छ अधिग्रहण गरोस् । सरकारको स्वामित्वमा ल्याएर त्यसलाई उपयोग गर्ने नीति ल्याउनुपर्छ । यदि जमिन दियो भने अर्को वर्ष बेचेर फेरि उनीहरु फेरि सुकुम्बासी हुनेछन् ।’

उनले सुकुम्बासी समस्या समाधान गर्न जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्ने बताए । उनले जबसम्म अत्याधुनिक प्रविधि प्रयोग गरेर उत्पादनमा गर्न सक्दैनौं त्यसबेलासम्म आत्मनिर्भर पनि नहुने र निर्यात गर्न पनि नसकिने बताए ।

२०५१ सालमा मा १०/११ हजार भूमिहीन रहेकोमा अहिले १६ लाखले भूमिहीनले आवेदन दिएका भन्दै गौतमले जमिन बाँड्न नहुने बताए । उनले भने, ‘ आयोगले एक परिवारलाई पाँच कठ्ठादिने भनेको छ । यसरी बाँड्दा ४ लाख हेक्टर जमिन चाहिन्छ । त्यो कहाँबाट ल्याउने ? संविधानले आमरुपमा भूमिसुधार लागू गर भनेको छ । पछाडि परेकालाई आवासको सुनिश्चिता गर भनेको छ । प्रत्येक परिवारमा रोजगारी दिन सकियो भने उनीहरुलाई माथि उकास्न सकिन्छ । हामी संविधानको मर्म अनुरुप चलेनौं । तर हामी जसरी पनि जमिन दिने भनेका छौं यो गलत हो ।’