पार्टी एकतालाई निष्कर्षमा पुर्याउनु पर्ने नेपाल पक्षको निर्णय, सम्मानजनक एकतामा केन्द्रीय सदस्यहरुको जोड

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पार्टी एकता सम्मानजनक रुपमा हुनुपर्ने बताएका छन् । नेता रघुजी पन्तका अनुसार केन्द्रीय कमिटी बैठकको दोस्रो दिन शुक्रबार बोल्ने केन्द्रीय सदस्यहरुले सम्माजनक एकतामा जोड दिएका हुन् । उनीहरुले त्यसका लागि पार्टी अध्यक्षले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

बैठकमा शुक्रबार बिहीबार बोल्न बाँकी रहेका ३५ जना केन्द्रीय सदस्यले बोलेका थिए । बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीले आफूलाई जतिसुकै गाली गरेपनि आफू एकताकै पक्षमा रहेको बताए ।

उनले आलोचना गर्दा संयमित भएर गर्न नेताहरुलाई आग्रह गरे । उनले भने, ‘हामीले पनि आलोचना गर्दा संयमति रुपमा गर्नुपर्छ । केपी ओलीले मलाई जति नै गाली गरेपनि म एकताकै पक्षमा छु । केपी ओलीले अल्मल्याउन खोजेको होकि भन्ने साथीहरुको भनाई छ । त्यो सत्य नहोस् भन्ने मेरो कामना छ ।’

बैठकले चार वटा प्रस्ताव पारित गरेको छ । बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको स्वागत गरेको छ । त्यस्तै, पार्टी एकताका लागि दश बुँदे सहमति भएको र वार्ता चलिरहेका बेला नेताहरुमाथि अनेकौ टिप्पणी गर्ने काम राम्रो नभएको भन्दै दुःख व्यक्त गरेको छ र विचार व्यक्त गर्दा संयमित हुन आग्रह गरेको छ ।

पार्टी एकताका लागि वार्ता चलिरहेका बेला एक पक्षीय ढंगले सदस्यता नविकरण लगायत महाधिवेशनको काम अघि बढाउने एकता भाँजो हाल्ने काम गरेको निष्कर्ष निकाल्दै रोक्न माग गरेको छ । बैठकले अहिलेसम्म भएका दश बुँदेलगायतका सहमतिले एकताको काम अघि बढेकाले यसैलाई एकताको आधार मानेर अघि बढ्न आग्रह गरेको छ । बैठकले स्थायी कमिटीलाई बाँकी निर्णय गर्ने जिम्मेवारी दिएको नेता पन्तले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: