शुक्रबार, बैशाख ०७, २०८१

तीन दिनसम्म मुख्यमन्त्री पोखरेलको निवासबाट बाहिर निस्कन नदिइ एमालेमै रहन दबाब दिइयोः सांसद वली

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाएर जबर्जस्ती एमालेमा रहेको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको बताएकी छन् ।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी वलीले आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र १८ गते मुख्यमन्त्री निवासबाट बाहिर निस्कन नदिइ निरन्तर दबाब दिइएको बताएकी हुन् । उनले आफूलाई विज्ञप्तिमा मात्र नभई अरु दुई तीनवटा माइन्युट जस्ता रजिस्टरमा पनि जबर्जस्ती हस्ताक्षर गराइएको बताएकी छन् ।

त्यसपछि आफूले मुख्यमन्त्री निवासबाट उन्मुक्ति पाउने र बाहिर गएपछि सबै घटना सार्वजनिक गर्ने योजना बनाए पनि आफूलाई अझ कडाईका साथ मुख्यमन्त्री निवासमै राखिएको उनले बताइन् । उनले आफू माओवादी केन्द्रमै रहेको बताइन् ।