बिहिबार, बैशाख ०६, २०८१

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

यसअघि सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनीहरुले संविधानको धारा १६८ (२) अनुसार बहुमत सरकार गठन गर्न प्रस्ताव आह्वान गर्न विपक्षी गठबन्धनले माग गरेका थिए । नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गर्दै ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रस्ताव बुझाएका हुन् ।

अविश्वासको प्रस्ताव प्रदेश सभाका सचिवालयका सचिव दुर्लभकुमार पुनले बुझेका छन् । विपक्षी गठबन्धनले मंगलबार नै प्रदेश प्रमुखसँग प्रदेश सभाको विशेष अधिवेशन मागसहित समावेदनसमेत दर्ता गरेका छन् ।

नेकपा विभाजनपछि सबैभन्दा पहिले वैशाख ६ मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उक्त प्रस्तावपछि प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ मा प्रदेश सभा बैठकको आह्वान गरेका थिए ।

तर वैशाख १९ मा मुख्यमन्त्रीले पदबाट राजीनामा दिँदै अविधेशन बस्दै नबसी अन्त्य गरेका थिए । वैशाख २६ मा विपक्षी गठबन्धनले दोस्रोपटक अविश्वासको मत र प्रदेश सभाका लागि समावेदन गरेका थिए । त्यसबेला भने प्रदेश प्रमुखले औचित्य नरहेको भन्दै खारेज गरिदिएका थिए । लुम्बिनी प्रदेश सभामा हाल ८० सदस्य छन् । जसमा सत्तापक्ष एमालेका ३९ सदस्य छन् ।

विपक्षमा माओवादी १७, कांग्रेसका १९, जसपाका ३ र राजमोका एक गरी ४० सदस्य छन् । माओवादी केन्द्रका पूर्णबहादुर घर्ती भने सभामुखको भूमिकामा छन् । सरकार बनाउन ४१ सदस्य आवश्यक पर्छ ।