शुक्रबार, चैत १६, २०८०

फेरि प्रधानमन्त्री हुन षड्यन्त्र नगर्न ओलीलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू तर्सेर मैदान छाडेर नभाग्ने बताएका छन् । अखिल फोर्सको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु अरुको आलोचना सुन्न तयार रहेको तर मैदान छाडेर नभाग्ने बताएका हुन् ।

उनले घमण्डले रावणलाई पनि नष्ट गरेको भन्दै कार्यकर्तालाई त्यस्तो प्रवृत्ति लिएर नहिँड्न आग्रह गरे । उनले भने, ‘सबैलाई अराजक नहोऔं भनेर भन्ने हो। मै सर्वेसर्वा भन्ने भावनालाई अस्वीकार गर्ने हो । क्याम्पस, क्याम्पसमा रचनात्मक काम गर्नुस्। अप्ठेरोमा परेका जनतालाई सहयोग गर्नुस् ।’

नेता नेपालले ओली समूह अराजक भएको भन्दै अखिल फोर्स अराजक हुन नहुने बताए । कसैमाथि आक्रमण गर्नका लागि फोर्स गठन नभएको नेपालको भनाई थियो ।

उनले भने, ‘ इमान्दारीता निष्ठा र सम्पर्ण तपाईँ हाम्रो बाटो हुनुपर्छ । आवाज उठाउनुस् आँखा र कान बन्द नगर्नुस् । मर्यादित संस्कारलाई ग्रहण गर्नुस्। अरुको छाडा प्रवृतिलाई ग्रहण नगर्नुस्। हामी गलत प्रवृत्तिका विरोधी हौं।’

संविधान जोगाउनका लागि २२ जना सांसदहरुले योगदान गरेको भन्दै नेपालले आफूहरुको कारण राजतन्त्र ढलेको बताए। उनले ओलीलाई फेरि प्रधानमन्त्री हुन षड्यन्त्र नगर्न चेतावनी दिए।

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड १९ नियन्त्रणमा लाग्न आग्रह गरे । उनले विगतमा नेताहरुको बोली र व्यवहार फरक रहेको भन्दै प्रधानमन्त्रीलाई बोले अनुसार सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न आग्रह गरे ।

उनले भने, ‘घोषणा गरेर मात्रै आनन्दित हुने समय होइन। तपाईंबाट त्यस्तो नहोस्। जनतालाई दिएको वचन तपाईंले खोप हो। तपाईंले खोप उपलब्ध गराउनुपर्छ। सबै ठाउँमा खोप पुगोस् । सबैभन्दा पहिलो कुरा भनेको ज्यान हो ।’ उनले प्रधानमन्त्री देउवालाई इमान्दार बन्न सुझाव समेत दिए ।