विवादित विषयलाई पाँच दिनभित्र शीर्ष नेताले टुंग्याएपछि कांग्रेसको महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ हुने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुंग्याउन नसकेको विषयहरुलाई पार्टीका शीर्ष नेताहरुले पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको हो ।

विवादित विषयहरुलाई पाँच दिनभित्र शीर्ष नेताले टुंग्याएपछि महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ हुने नेता रमेश लेखकले जानकारी दिए ।

उनले भने ‘ केही विषयहरु केन्द्रीय नेतृत्वमा नै, केन्द्रीय नेताहरुको तहमै निर्णय गर्नुपर्ने भनेर हामीले पहिचान पनि गरिसकेका छौँ । त्यो पहिचान गरेका विषयहरु प्रतिवेदनमा उल्लेख गरेर केन्द्रीय नेताहरुको तहमा हामीले प्रस्तुत गरेका छौँ । आजको छलफल परामर्श पछि केन्द्रीय नेताहरुको तहमा प्रस्तुत गरिएका विषयहरु, निर्णयका लागि प्रस्तुत गरिएका विषयहरुमा केन्द्रीय नेताहरुको तहबाटै छलफल गरेर निर्णय गर्ने भन्ने निर्णय भएको छ । र उहाँहरुले त्यो निर्णय गर्नुहुन्छ र त्यसपछि अरु प्रक्रियाहरु पनि अघि बढ्छन् । पाँच दिनभित्र नेताहरुले निर्णय गर्ने भनिएको छ ।’

कांग्रेसमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएकाहरुको, धनुषा क्षेत्र नं. ४, सर्लाही क्षेत्र नं. २ का साथसाथै बारा र सप्तरीका नयाँ क्रियाशील सदस्यहरुको बारेमा पार्टी नेतृत्वले टुंग्याउनुपर्ने नेता लेखकले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: