बिहिबार, बैशाख १३, २०८१

सुवासजीले त्यो संविधानमा ७५ (५) किन लेख्नु भयो ? भनि प्रश्न सोध्नेवाला थिएँ, हिँडिहाल्नुभयोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोभिडविरुद्धको खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाड्ने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले ऋण लिएर भएपनि जतिसुकै महंगो परेपनि कोरोना खोप सबै नेपालीलाई पुर्याउने प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्रीले भने, ‘कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नेपालीलाई कोरोना खोप पुर्याउन गरेको वाचा पूरा गरि छाडनेछु । हामी ऋण लिएर जति महंगो भएपनि नेपाली जनतालाई कोरोना खोप पुर्याउने छौं ।’

प्रधानमन्त्रीले आफ्नो कार्यकाल छोटो रहेको उल्लेख गर्दै त्यस बीचमा सत्ता साझेदार दलहरुसँग मिलेर जनताले अनुभूति गर्ने खालका केही काम गरेर देखाउने बताए ।

प्रधानमन्त्री देउवाले एमाले संसदीय दलका नेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप समेत लगाए । संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढी थाहा भएपनि उनले त्यसको व्याख्या गलत ढंगले गरेको प्रधानमन्त्री देउवाले तर्क गरे ।

उनले भने, ‘विपक्षी दलका नेता हुुनुहुन्न । पूर्वसभामुख नेम्वाङपनि आफूले बोलेको जवाफ नसुनि हिंड्नुभयो । त्यो संविधानमा ७५ (५) किन लेख्नु भयो ? भनि प्रश्न सोध्नेवाला थिएँ । उहाँ सभामुख हुुनुहुन्थ्यो । संविधान जारी गर्ने बेला के बोल्नु भएको थियो भने–अब कहिल्यै पनि पार्लियामेन्ट भंग हुने छैन । म उहाँले बोल्नु भएको कुरा आज स्मरण गराउन चाहन्छु । यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानु भयो ।’