बिहिबार, बैशाख ०६, २०८१

विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेकपा महासचिव विप्लवसँग बुधबार भएको छलफलमा प्रधानमन्त्रीले पूर्ववर्ती सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका हुन् । छलफलमा सहभागी नेकपाका नेता धर्मेन्द्र बास्तोलाले प्रधानमन्त्रीका तर्फबाट तीन बुँदे सहमति कार्यान्वयनको प्रतिवद्धता आएको जानकारी दिए ।

उनले भने, ‘हामीले सहमति कार्यान्वयन गर्नुपर्यो भन्ने कुरा राख्यौँ । प्रधानमन्त्रीले काम गर्छौ भन्नुभएको छ ।’प्रधानमन्त्री देउवालाई भेट्न विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धमेन्द्र बास्तोला बालुवाटार पुगेका थिए ।

पूर्ववर्ती सरकारले गत फागुन २० गते तत्कालीन प्रतिबन्धित नेकपासँग प्रतिवन्ध फुकुवा, नेता–कार्यकर्ताको रिहाइ र मुद्दा खारेज गर्ने सहमति गरेको थियो ।

नेकपाका नेताहरुले यसअघिसत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य लगायतसँग भेटवार्ता गरेका थिए । ती भेटमा पनि उनीहरुबीच ३ बुँदे सहमति कार्यान्वयन र कम्युनिष्ट पार्टीको एकताबारे कुराकानी भएको थियो ।