बिहिबार, बैशाख ०६, २०८१

योग्य र क्षमतावान स्वास्थ्यमन्त्री नियुक्त गरी तेस्रो लहरको तयारीमा लाग्न प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव

काठमाडौं । जनस्वास्थ्य विज्ञहरुले कोरोना महामारी रोकथामका लागि पूर्वतयारी गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएका छन् ।

डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षितलगायतले योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्न र स्वास्थ्य प्रणालीको क्षमतालाई वृद्धि गर्न सुझाव दिएका छन् ।

उनीहरुले अस्पतालको बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि सुझाव दिएका छन् । कोभिड परीक्षण बढाएर, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गर्न पनि उनीहरुको सुझाव छ ।

यस्तै, सीमानामा रहेका जनताको आवागमनलाई अनुगमन गर्न आधारभूत सुविधासहितको होल्डिङ सेन्टर स्थापना गर्न, सहरका प्रत्येक वडा र गाउँपालिकाहरुमा कोभिडका बिरामीहरूका लागि अक्सिजन बैंक हुनुपर्नेमा पनि उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

केही निजी र मेडिकल कलेजलाई केही समयका लागि अस्थायी कोभिड विशेष अस्पतालमा परिवर्तन गर्न पनि सुझाइएको छ । कोभिड–१९ महामारीको समयमा मानसिक स्वास्थ्य तथा नसर्ने रोगका बिरामीहरुको सेवा सुनिश्चित गर्न अत्यावश्यक रहेको भन्दै उनीहरुले कोभिड विशेष अस्पताल बाहेकका सरकारी र निजी अस्पतालहरुले कोभिड बाहेकका बिरामीलाई सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।