बिहिबार, बैशाख ०६, २०८१

निर्वाचनको मिति घोषणा गर्न सत्तारुढ प्रमुख दल सहमत

काठमाडौं,८ फागुन । मधेसी मोर्चाको असन्तुष्ट रहे पनि सत्तारुढ दलबीच स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विषयमा सहमति बनेको छ । शनिबार मात्रै निर्वाचनको मिति घोषणा गरे आन्दोलनमा जाने चेतावनी मोर्चाका नेताहरुले दिए पनि आइतबार सत्तारुढ दल नेकपा माओवादी–केन्द्र र नेपाली काँग्रेसका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले केही दिनभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने सहमति गरेका हुन् ।

निर्वाचनका लागि निर्वाचन आयोगसँग चाँडै परामर्श गरिने पनि सहमति बनेको छ । आयोगले यसअघि नै निर्वाचनको मितिका लागि जेठ १ र २१ को मिति तोकेर सरकारलाई दिइसकेको छ ।

सत्तारुढ दलको बैठकमा निर्वाचनको विपक्षमा रहेको मोर्चालाई समेत मनाउने तर मोर्चा नमानेको खण्डमा निर्वाचनको मिति घोषणा गर्ने टुंगो लागेको छ । मोर्चाका मागहरुबारे कार्यदल बनाएर छलफल गर्ने विषयमा पनि बैठकमा कुरा उठेको थियो ।