शुक्रबार, बैशाख ०७, २०८१

स्वभियु निर्वाचनको परिवर्तित कार्यतालिका यस्तो छ

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको नयाँ कार्यतालिका आज सार्वजनिक गरेको छ । विभिन्न विद्यार्थी संगठनसँग हिजो भएको सहमति अनुसार जारी भएको नयाँ कार्यतालिका अनुसार यही फागुन ११ गते विहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने र सोही दिन दिउँसो २ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने छ ।

१२ गते दिउँसो १२ बजेसम्ममा दाबी विरोधको छानविन गरी साँझ ५ बजे उम्मेदवारको मनोनयन पत्र वितरण गरिने त्रिविका प्रवक्ता भोला ढकालले जानकारी दिनुभयो ।

१३ गते खाली राखेको त्रिविले १४ गते विहान १० बजेदेखि ३ बजेसम्म मनोनयन पत्र दाखिला गर्ने समय छुट्टयाएको छ । १४ गते नै ३ बजेदेखि ५ बजेसम्म प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने ढकालले बताउनुभयो । १५ गते विहान ८ देखि १० बजेसम्म उम्मेदवारको नामावलीमा दाबी विरोध गर्न सकिने त्रिविले जनाएको छ । उम्मेदवारमाथिको दाबी विरोध माथि छानविन गरी १५ गते नै मध्यान्ह १२ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने प्रवक्ता ढकालले बताउनुभयो । सोही दिन १२ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारले नामावली फिर्ताको समय छुट्टयाएको त्रिविले साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । १६ र १७ गते खाली राखी १८ गते मतदानको मिति तय गरेको ढकालले जानकारी दिनुभयो ।

पार्टीको महाधिवेशनले तयारी नपुगेको भन्दै नेत्र विक्रम चन्द नेतृत्वको माओवादीको विद्यार्थी संगठनले स्ववियु निर्वाचन सार्न दबाब दिएपछि विद्यार्थी संगठन र त्रिविबीच हिजो स्ववियु निर्वाचनको मिति ४ दिन सार्ने सहमति भएको थियो । असन्तुष्ट बनेका विद्यार्थी संगठनले स्ववियु निर्वाचनको मिति सार्ने सहमति भएसँगै विभिन्न क्याम्पसमा लगाएको ताला खुलाएका छन् । यसअघि त्रिविले यही फागुन १४ गते मतदान हुने गरी स्ववियु निर्वाचनको कार्यतालिका तय गरेको थियो ।