शुक्रबार, बैशाख ०७, २०८१

किसानको गोठ-गोठमा भैसी पुर्याउँदै नगर प्रमुख,अनुदानमा भैसी पाएपछि किसानहरु हर्षित

जाजरकोट । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तिले किसानको गोठ गोठमा भैसी पुर्याएका छन् । नगरको आर्थिक सहयोगमा खरिद गरिएका भैसी वडा नं १३ रोकाय टोलका १० घर परिवार किसानको गोठमा नगर प्रमुख घर्ति आफैले लिएर गएका हुन् ।

नगरपालिकाले संचालन गरेको भैसी पालन तथा पशुपन्छी प्रबद्र्धन कार्यक्रम अन्तर्गत खरिद गरिएका भैसी नगर प्रमुखले किसान गोठसम्म पुर्याएका हुन् । किसानलाई भैसी बुझाउदै नगर प्रमुख घर्तिले भने अहिले भैसी लिनुहोस् पछि दुध खाना आउछु , तपाइहरुको प्रगति मेरो खुशि हो । भैसी पाल्ने किसानहरुलाई व्यवसायिक बनाउन नगरले आर्थिक अनुदान सहयोगमा भैसी वितरण गरेको नगर प्रमुख घर्तिको भनाई छ ।

मध्य पहाडी लोक मार्ग आसपासमा दुग्ध प्रबद्र्धन गर्ने उदेश्यले नगरपालिकाले भैसी पालन तथा पशुपन्छी प्रबद्र्धन कार्यक्रम कार्यक्रम संचालन गरेको हो । कार्यक्रम अन्तर्गत यो आर्थिक वर्षमा ४ वटा समुह छनौट गरिएको छ । ११, १२ र १३ का ४ वटा समुह छनौट गरिएको नगर पशुपन्छी शाखाका प्रमुख रत्न बहादुर डाँङ्गीले बताए ।

प्रति समुह १० वटा मुर्रा जातको भैसी वितरण गर्ने उनको भनाई छ । नगरको ८० प्रतिशत अनुदान र किसानको २० प्रतिशत लगानीमा १ लाख २२ हजार ८ सय ३३ मा भैसी खरिद गरिने कार्यक्रम रहेको छ । ४ वटा समुहमा ४८ लाख भन्दा बढिका क्रस मुर्रा जातको भैसी यो वर्ष वितरण गर्न लागिएको शाखा प्रमुख डाँङ्गीले बताए । अरु तीन समुहलाई पनि चाडै भैसी बितरण गर्ने नगरको कार्यक्रम रहेको छ ।

उन्नत जातका भैसी लिएर नगर प्रमुख घरमा पुग्दा रोकाय टोलका किसानहरु निकै खुशि भएका छन । आफुले मत हालेर जिताएको मेयर भैसी लिएर घरमा आउदा गर्भ लाग्यो । उनलाई यस्तै राम्रो काम गर्न हामीले भोट हालेका हौं डम्मर रोकायले भने । हाम्रो रहर नगर सरकारले पुरा गर्यो मेयरसाबको जयहोस भीमबहादुर रोकायले गोठमा भैसी बाँधेर खुशि हुदै भने ।

मंगलबार नगर प्रमुख घर्तिले पार्वती रोकाय, भुमि रोकाय, मैसरी रोकाय, डम्मर रोकाय, थल बहादुर रोकाय, भीमबहादुर रोकाय, उर्दल रोकाय, सदे रोकाय, पर्शुराम रोकाय र बल बहादुर रोकायलाई गाउँमै पुगेर भैसी बुझाएका हुन । लागत साझेदारीमा शसर्त अनुदान तर्फ नगरपालिकाले भैसी पालन कृषक समुहहरुका लागि आबश्यक बजेट व्यवस्थापन गरेको नगर प्रमुख घर्तीले जानकारी दिए ।

विपन्न किसानहरुको जीवन स्तरमा परिवर्तन गर्न नगरले यस्ता कार्यक्रम संचालन गरेको नगर प्रमुख घर्तिले बताए । पशुपालनको संभावना हेरेर किसानहरुलाई व्यवसायिक बनाउन अरु पहल गरिने नगरको याजना रहेको छ । भौगोलिक विशेषता अनुसार मध्यपहाडी लोकमार्ग आसपासमा मुर्रा जातको भैसी पालन व्यवसाय फस्टाउने देखिएको छ ।नगरपालिकाको अनुदानमा भैसी पाएपछि भेरी–१३ रोकायगाउँका किसानहरु हर्षित भएका छन् ।