शुक्रबार, चैत १६, २०८०

एमालेको लोकप्रियता देखेर सरकार निर्वाचनबाट डरायो : पोखरेल

भक्तपुर,४ फागुन । एमाले नेता तथा पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एमालेको लोकप्रियता देखेर सरकार निर्वाचनबाट भाग्न खोजिरहेको बताएका छन् । रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले सरकार संविधान कार्यान्वयनमा भन्दा संविधान संशोधनको अड्को थाप्दै सरकारले निर्वाचन नगर्न अनेक नाटक मञ्चन गरिरहेको बताए ।
उनले सरकार संविधान कार्यान्वयनलाई भन्दा संविधान संशोधनको नाममा संसदलाई अड्काएर निर्वाचन गर्न नदिने षड्यन्त्रमा लागेको बताए । निर्वाचन नगर्नु भनेको दक्षिणपन्थी अतिवादी शक्तिलाई प्रश्रय दिनु, संविधान कार्यान्वयन हुन नदिनु र मुलुकलाई असफल राष्ट्र बनाउने खेलमा सरकार लागेको उनले आरोप लगाए । सुशासन कायम नगर्ने, संविधान कार्यान्वयन हुन नदिने र निर्वाचन नगर्ने हो भने सरकारको आयू समाप्त हुने भन्दै प्रतिपक्षको नाताले एमाले सरकारलाई सहयोग गर्न तयार रहेपनि सरकार निर्वाचन गर्न नचाहिरहेको उनको भनाई छ ।
तीन तहको निर्वाचन गर्नुपर्ने सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा नगर्नु निर्वाचन नगर्ने बहाना भएको भन्दै आगामी जेठ १५ गते भित्र स्थानीय तहको निर्वाचन हुनुपर्ने र स्थानीय पुर्नसंरचना आयोगले दिएको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयन गरेर सरकारले निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए ।
उनले मधेशी मोर्चासँग एमालेको वार्ता भएपनि संविधान संशोधन र निर्वाचनको विषयमा सहमति हुनै नसक्ने बताए । एमालेले संविधान संशोधनलाई असफल बनाएर छाड्ने बताउँदै सरकार संविधान कार्यान्वयनलाई भन्दा संविधान संशोधनको विषयलाई अड्कोको रुपमा अगाडि सारेर संसदलाई गतिरोध बनाउँदै बैठक सञ्चालन गर्न नदिएको उनले बताए ।
उनले तराईलाई विभाजन गर्ने डिजाइनअनुसार पाँच नम्बर प्रदेशलाई टुक्राउन खोजिएको र यसले राष्ट्रियतामाथि गम्भिर असर पर्ने भएकाले संविधान संशोधन कुनै पनि हालतमा पारित गर्न नदिने बताए । संविधान संशोधन आवश्यकताको आधारमा हुने र यसको विपक्षमा एमाले नरहेको प्रष्ट पार्दै उनले पाँच नम्बर प्रदेशलाई विभाजन गर्ने माग मधेशी मोर्चा वा त्यहाँको जनताको नभई अन्तैबाट आयातीत भएकाले त्यसलाई एमालेले असफल बनाएर छाड्ने बताए । संविधान संशोधनलाई एमालेले संसदमा छलफल गर्न नदिने बताउँदै सरकारले जर्वजस्त संसदमा छलफल गराए एमालेले जसरी भएपनि असफल बनाएर छाड्ने उनले बताए ।
उनले संविधान, ऐन कार्यान्वयनको विषय जटिल हुँदाहुँदै सरकारले प्रहरी महानिरीक्षकमा वरियता क्रम मिचेर आईजीपी नियुक्ति नगरी अरुलाई गर्नुले सरकारको काम र शैली स्पष्ट भएको बताए । न्यायलयको मूल्य र मान्यतालाई समेत वर्तमान सरकारले ख्याल नगरेको उनको भनाई छ । उनले शान्ति सुरक्षा कायम गर्नुभन्दा वरिष्ठताको आधारमा पहिलो ब्यक्तिलाई आईजीपी नियुक्ति नगरीकन मर्यादा क्रमलाई उल्लंघन गरेरको आरोप लगाए ।
उनले पोखरलले प्रशासन र शान्ति सुरक्षा कमजोर बनाउने गरि गरिएको राजनीतिक हस्तक्षेपको आलोचना गरे । उनले चेन अफ कमान्डलाई उल्लंघन गरेकाले तत्काल सो निर्णय सच्याउन मागसमेत गरे । उनले आईजीपी प्रकरणमा सर्वोच्चले जारी गरेको परमाआदेश जारी गर्नु स्वागतयोग्य भएको बताए ।