शुक्रबार, बैशाख ०७, २०८१

महामारीकाबीच समाजेवामा सक्रिय भाईकाजी गुरुङ

काठमाडौं । दिएर खाएर त कसलाई पो पुग्ला र ! तर आपत् विपद्का बेला सहयोगी मनहरुको साथ पाउँदा दिने पाउने दुवैलाई राहतको अनुभव हुँदो रहेछ । 

गत वर्षको लकडाउनमा काठमाडौँ उपत्यकाका विभिन्न ज्याला मजदूरी गर्नेहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेका एक व्यक्तिको पहलमा यस वर्ष पनि सहयोगको क्रम जारी रहेको छ । समाजसेवी भाईकाजी गुरुङले चाबहिलस्थित गणेश्थानमा विपन्न वर्ग,अशक्त अपाङ्गता भएका र मजदुरी गरेर गुजारा गर्ने ३ दर्जन घरपरिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

दैनिक काम गरेर गुजारा गर्नुपर्ने, तर हाल काम नपाएका मजदुरका साथै अपाङ्गता भएकाहरुलार्ई चामल, दाल , तेल, नुन लगायत खाद्य सामाग्रीहरु सहयोग गरिएको उनले बताए ।

विभिन्न सामाजिक क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै उनले अहिले कोरोना महामारीको समयमा पहिलो प्राथमिकता खाद्यान्न भएकाले खाद्यान्न वितरण गरिएको जानकारी दिए । महामारीका कारण परिवारका सदस्यको समेत काम धन्दा बन्द भएको अवस्थामा मानवीयताको हिसाबले सहयोग वितरण गरिएको र आगामी दिनमा अन्य स्थानमा पनि सहयोग गर्दै जाने योजना रहेको उनले बताए । खाद्यान्न वितरण गरिएका अधिकांश वृद्ध र अशक्तहरु गरिब तथा विपन्न रहेको उनको भनाइ छ । 

कोरोना महामारी नियन्त्रणका लागि गत चैत्रदेखि जारी निषेधाज्ञाका कारण मजदुरी गर्न जाने अवस्था नभएको र घरमा खाने अन्न समेत नभएकाहरु खाद्यान्न पाउँदा खुशी भएका थिए। विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण सरकारले स्रोत साधनले समेत नभ्याएको स्थितिमा यस्ता सहयोग केही समयका लागि साँच्चिकै राहत हुने गरेका छन् । 

समाजसेवी एवम् पत्रकार राजन थापाले गुरुङले गरेका सेवा एकदमै धर्मको काम भएको बताउँदै आर्थिक अवस्था भएका जेष्ठ नागरिक तथा अशक्तलाई यो महामारीको समयमा सहयोग गरेर सरकारलाई सहयोग गर्ने काम सराहनीय भएको बताए।