बिहिबार, बैशाख १३, २०८१

गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि २४ घण्टाको समयसीमा

गण्डकी । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार वैकल्पिक सरकार गठनको लागि दलहरुलाई आह्वान गरेकी छन् । उनले संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकी हुन् ।

यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि संसद सचिवालयले शुक्रबार प्रदेश प्रमुखलाई औपचारिक जानकारी गराएको थियो । संसद सचिवालयको पत्र प्राप्त हुनासाथ प्रदेश प्रमुख पौडेलले सरकार गठनको आह्वान गरिन् ।

प्रदेश प्रमुखको आह्वानसँग नयाँ सरकार गठनको बाटो खुलेको छ । धारा १६८ (५) अनुसार आफूसँग बहुमत भएको आधार प्रस्तुत गर्न सक्ने कुनै एक प्रदेशसभा सदस्यको नेतृत्वमा नयाँ सरकार गठन हुने व्यवस्था छ । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवश्यकता पर्छ ।

त्यसरी गठन हुने नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।