बिहिबार, बैशाख १३, २०८१

ओली पक्षले माधव नेपाल पक्षका १७ प्रदेश सदस्यलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिएर स्पष्टीकरण सोधिएको एमालेका प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए ।

उनले संसदीय दलका नेता प्रकाशबहादुर शाहसहितका १७ जना प्रदेशसभा सदस्यलाई नै स्पष्टीकरण सोधिएको जनाउँदै चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने बताए ।

एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप उल्लंघन गरेको भन्दै मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने ओली समूहका ७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । उनीहरुले बुधबार शाहलाई स्पष्टीकरण बुझाएका छन् । संसदीय दलले अहिले स्पष्टीकरण अध्ययन गर्ने काम भइरहेकाले त्यसपछि मात्र आवश्यक कदम चाल्ने जनाएको छ ।