मङ्गलबार, बैशाख ०४, २०८१

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, सात मन्त्री र एक राज्यमन्त्री थपिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नेकपा एमालेबाट ६, जसपाबाट एक र एक राज्यमन्त्री नियुक्त गरेका छन् । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए । प्रधानमन्त्रीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् ।

त्यस्तै निवर्तमान गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापालाई सञ्चार तथा प्रविधिमन्त्री बनाएका छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । त्यस्तै नेकपा एमालेबाट नादरमुनी रानालाई वनमन्त्री, गशेण पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाइएको छ ।

मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने ज्वालाकुमारी साह कृषिमन्त्री, यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । जसपाको ठाकुर पक्ष ७ जेठमा ८ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको थियो । एमालेकी आशा विक वनराज्यमन्त्री बनेकी छन् ।