काठमाडौं,२ फागुन । आगामी जेठभित्र निर्वाचन सम्पन्न गर्ने गरी यसै साता निर्वाचन मिति घोषणा गर्ने विषयमा सरकार फेरि अलमलपरेको छ ।
सरकार तत्काल निर्वाचन मिति घोषणा गरे मधेसी मोर्चालगायत असन्तुष्ट पक्षले निर्वाचनमा भाग नलिने र मिति घोषणा नगरे संविधानले तय गरेको समयसीमा गुज्रँदै गएकाले कस्तो रणीनीति अख्तियार गर्ने भन्ने अन्योलमा परेको हो । मोर्चाले संविधान संशोधनअघि निर्वाचन मिति घोषणा भए बहिष्कार गरी आन्दोलनमा जाने चेतावनी दिँदै आएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने तत्काल निर्वाचन मिति घोषणा गर्न दबाब दिँदै आएको छ । यता, निर्वाचन आयोगले फागुनको पहिलो सातासम्म सरकारले निर्वाचन मिति घोषणा गरे मात्र १ र २१ जेठमा स्थानीय निर्वाचन गर्न सकिने सरकारलाई जानकारी गराइसकेको छ । संसद्को पहिलो दल नेपाली कांग्रेस र तेस्रो दल माओवादी केन्द्रबीच गत साउनमा निर्वाचनका लागि सत्ता गठबन्धन बने पनि अहिलेसम्म निर्वाचनका विषयमा अन्य दलहरूबीच सहमति जुटाउन नसक्दा निर्वाचनको मिति घोषणा हुन सकेको छैन । सरकारले निर्वाचन आगोगलाई स्थानीय निर्वाचन १० जेठभित्र गर्ने गरी तयारी गर्न पत्राचार गरेपछि आयोगले भने फागुन पहिलो सातासम्म निर्वाचन घोषणा भए १ र २१ जेठमा गरी दुई चरणमा निर्वाचन गर्न सकिने जनाएको छ ।
@राजधानी