शुक्रबार, बैशाख ०७, २०८१

गोरखाको लाप्राकसँग मेरो साइनो

भवन भट्ट,

जापानको ब्यस्त जिवनलाई थाती राखेर भएपनि लाप्राकले तानेको मनलाई त्यँहा पुरयाउने मेरो प्रयास सफल भयो । पछिल्लो महिना दुई दिनका लागि लाप्राक पुग्ने मौका मिल्यो ।

त्यँहा पुग्दा लाप्राकीहरुको स्वागतले भावुक भएको मेरो मन केहि दिन त्यही बसेर पुननिर्माणमा जुँटुजुँटु लागेको थियो । तर दुर्इ दिननै भएपनि लाप्राकको बसाइ अत्यन्तै सुखी र खुसी रहयो । एनआरएनका अभियानमा आफुलाई समाहित गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । जडिबुटी र हिङ बेच्न लाप्राकसम्म आइपुगेका एक परिश्रमी जुम्लीको कथा सुनेपछि मलाइ लाग्यो , मानिसले बाच्नका लागि गर्ने हरेक प्रयास आत्मसन्तुष्टी र घरपरिबारको लागि हो । यो मुलुक बनाउने हाम्रो अभियान पनि नेपाली घरपरिवारको लागि हो ।

लाप्राकमा केवल ओत लाग्ने घरमात्र बनाउने नभई नमुना वस्ती बनाउने हाम्रो उदेश्य हो । ‘अब गाउँ बनाउने जिम्मा तपाई–हाम्रो काँधमा आएको छ । तपाई–हामीले हातमा हात मिलाएर काँधमा काँध मिलाएर लाप्राक गाउँलाई साच्चिकै नमुना बनाउनु छ ।

म लाप्राक पुगेर फर्केपिछि आफु पुननिमार्णमा जुटन नसक्ने भएका कारण आफ्नो उपस्थिती देखाएको छु । दुर्इ जना मेरा सह्दयी साथीहरुलाई ब्यक्तिगत तवरले लाप्राकको निमार्णमा सहभागी गराएर आफ्नो कमी महसुस हुन दिएको छैन । त्यति मात्र होइन त्यँहा बालुवा बोक्ने समस्या देखेपछि एउटा ट्टाक्टरको पनि ब्यवस्था गरेको छु । यी त मेरा ब्यक्तिगत प्रयास भए ।

लाप्राक हाम्रो अभियान अनि गैर आवासिय नेपालीको स्वाभिमान पनि हो । भुकम्पले तहस नहस भएको मुलुकलार्इ तत्कालै राहत पुरयाएर दायित्व निभाएको एनआरएन यतिखेर पुननिमार्णमा जुटेको छ ।  गैरआवासीय नेपाली संघले करिव ३५ करोड रुपैयांको लागतमा एक हजार घर निर्माण गर्ने घोषणा गरेकोमा सरकारले पहिलो चरणमा लाप्राकलाई नमुना वस्ती बनाउन स्वीकृति प्रदान गरेपछि यो अभियान जोडतोडले अगाडि बढेको छ ।
’गत बर्षको महाभूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त गोरखाको उत्तरी गाउँ लाप्राकलाई नयां स्थानमा सारेर एकीकृत नमुना वस्ती बनाउन गैरआवासीय नेपाली संघ र सरकारवीचको संझौतालाई चाडै नै साकार रुप दिन सक्रिय रुपमा लागेको छ ।

एनआरएनको गुरुयोजना अनुसार लाप्राकको गुन्सीपाखामा सुविधायुक्त ४ सय ४४ घरको नमूना बस्ती बनाइने छ र त्यहाँ लाप्राकका भूकम्प पीडितहरुलाई पुनर्बास गराइने छ । एनआरएनले ६ सय १२ घर बनाउन चाहेको छ । तर, जग्गा अपुग भएकाले अहिले ४ सय ४४ घर मात्र बन्नेछन भने बाँकी १ सय ५० घरका लागि नयाँ ठाउँ खोजिनेछ । सरकारले लाप्राक गाउँका ६ सय १२ घरधुरी भूकम्पबाट प्रभावित रहेको तथ्याङ्क संकलन गरेको थियो ।
एकीकृत वस्तीमा बन्ने संग्रहालयमा पानी घट्ट, जाँतो, ढिकी, लाइभ प्रोग्राम देखाउन मिल्ने हल, परम्परागत बस्तु र संस्कारबारे सामग्री, मन्दिर, देवल पनि हुनेछन् । साथै सोलार इनर्जी, अपांगमैत्री संरचना हुनेछन् ।

बस्तीमा होमस्टे, सामुदायिक गेष्ट हाउस समेत निर्माण गरी व्यक्तिगत र संस्थागत आम्दानीको स्रोत जुटाइने सोच बनाइएको छ । घर निर्माणका लागि प्रतिघर ९ देखि १० लाख लागत लाग्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो महिना नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन)को लगानीमा निर्माण हुने लाप्राकको एकीकृत नमूना वस्तीको शिलन्यास गरे । लाप्राक पुगेका प्रधानमन्त्रीले यो नमुना एकीकृत वस्ती भएको बताएका थिए । बास्तवमा केहि ढिला भएपनि  देशलाई नयाँ सन्देश र सम्पूर्ण नेपालीमा आशा जगाउन सक्ने योजनाका रुपमा लाप्राकलाई लिइएको छ । एनआरएन साथीहरुको देशप्रतिको ममता सम्मानयोग्य छ । यो एनआरएनको सम्पुर्ण परिबारको अथक प्रयासको प्रतिफल हो ।

लाप्राक गाउँमा आयोजित बिशेष कार्यक्रममा सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीको समेत यसको प्रशंशा गर्नुभएको छ ।  गैरआवासीय नेपाली संघको अनुरोधमा नेपाली सेनाले क्याप्टेनको कमाण्डमा ३९ जना दक्ष जनशक्ति लाप्राक पठाएको छ ।

सकारको स्वीकृतपछि निर्माणकार्य सम्पन्न गरेर आगामी हिउँदसम्ममा पीडितहरुलाई नयां घर हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।
। पुरानो वस्ती रहेको ठाउँ प्राबिधिक हिसावले वस्ती राख्न उचित नभएपछि सो वस्तीको केही माथि अस्थायी टहराहरु रहेको गुम्सी पाखा डाँडामा ३२६ रोपनी क्षेत्रफलमा नयां वस्ती विकाश गरिएको हो ।

एनआरएनका साथीहरुको देशप्रतिको माया र ममता सम्मानयोग्य मात्र होइन प्रवासीहरुको राष्ट्रिय भावना प्रेरणादायी समेत बनेको छ ।