प्रधानमन्त्रीको शपथविरुद्धको रिट सर्वोच्चमा दर्ता, मंगलबार सुनुवाई हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्च अदालत प्रशासनले आज रिट दर्ता गरेको हो ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेको भन्दै रिट दायर गरेका हुन् ।

रिटमाथि मंगलबार सुनुवाइ हुनेगरी पेशी तोकिएको छ । प्रधानमन्त्री पदको शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द ‘प्रतिज्ञा गर्छु’उच्चारण गर्न अस्वीकार गर्दै ‘त्यो पर्दैन’ भनेको भन्दै रिट दायर भएको हो । रिट निवेदकहरुले संविधानमा उल्लेख गरिएको कामकाजी भाषामा नै शपथ लिनुपर्ने माग गरेका छन् । प्रधानमन्त्रीले फेरि शपथ नलिसम्म उनले गर्ने काममा रोक लगाउन पनि माग रिटमा गरिएको छ ।

त्यस्तै उनीहरुले दोस्रोपटक मन्त्री नियुक्त गरिएका मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र रामबहादुर थापाको नियुक्ति बदर गर्न माग गरेका छन् । मन्त्री पदमा पुनः नियुक्त हुँदा संघीय संसद नभइ मन्त्री हुन नपाउने संवैधानिक व्यवस्था रहेको तर त्यसविपरीत नियुक्ति गरिएको भन्दै उनीहरुले नियुक्ति बदर गर्न माग गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: