शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनएद्वारा नेपाल सरकारलाई ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण

काठमाडौं ।। गैरआवासीय नेपाली संघ एनआरएनएले शुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५ सय ६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

पश्चिम एशियामा रहेका नेपाली एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका ७५ लाखभन्दा बढीको अक्सिजन सिलिण्डर आआईतबार संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको एनआरएनए कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

ओमानदेखि काठमाडौँसम्म ल्याइएको अक्सिजन सिलिण्डर ढुवानीको खर्च भने नेपाल सरकारले बेहोरेको जनाइएको छ । सो अवसरमा स्वास्थ्यमन्त्री त्रिपाठीले संकटका समयमा सहयोग गरेकामा संघप्रति आभार प्रकट गर्दै सिलिण्डर आवश्यकतानुसार लुम्बिनी प्रदेशमा २ सय, सुदूरपश्चिममा १००, कर्णाली प्रदेशमा १००, प्रदेश नं २ मा ८५ र गण्डकी प्रदेशलाई ७५ थान वितरण गर्न निर्देशन समेत दिए ।

सिलिण्डर हस्तान्तरण गर्दै अध्यक्ष पन्तले कोभिड – १९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढिरहेकाले संघले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समितिलगायत विभिन्न नेपाली संघसंस्था तथा गैरआवासीय नेपालीसँग सहकार्य गरिरहेको जानकारी दिए ।