बुधबार, बैशाख १२, २०८१

टेस्लाले डिजिटल क्रिप्टोकरेन्सी बिटक्वाइन भुक्तानी स्वीकार नगर्ने

काठमाडौं ।विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सबैभन्दा महंगो डिजिटल क्रिप्टोकरेन्सी बिटक्वाइन भुक्तानी गरेर कार खरिद गर्न सकिने योजना खारेज गरेको छ। बिटक्वाइनको प्रयोग जलवायु परिवर्तनका लागि जिम्मेवार हुने भनी व्यापक बहस भइरहेका बेला टेस्ला सिइओ एलन मस्कले ट्वीट मार्फत् यस्तो घोषणा गरेका हुन्। टेस्लाले कार खरिदमा बिटक्वाइन स्वीकार नगर्ने मस्कको ट्वीट सार्वजनिक भएसँगै बिटक्वाइनको मूल्य १० प्रतिशतले घटेको छ भने शेयर मूल्यमा पनि गिरावट आएको छ ।यसअघि गत मार्च महिनामा टेस्लाले कार खरीदमा क्रिप्टोकरेन्सीको भुक्तानी पनि स्विकार गर्ने घोषणा गरेको थियो, जसको वातावरणवादी तथा लगानीकर्ताहरुले व्यापक आलोचना गरेका थिए। गत जनवरीमा टेस्लाले डेढ अर्ब डलरको बिटक्वाइन खरिद गरेको थियो । मस्कले आफ्नो ट्वीटमा लेखेका छन् ‘बिटक्वाइनको माइनिंग तथा कारोबारमा जिवांश इन्धन, खासगरी सबैभन्दा हानिकारक प्रदुषकको रुपमा रहेको कोइलाको प्रयोग तिव्र रुपमा बढिरहेको कुराले हामीलाई सचेत बनाएको छ । क्रिप्टोकरेन्सी राम्रो अवधारणा हो, तर यसका लागि वातावरणको ठूलो मूल्य चुकाउन सकिँदैन ।’भुक्तानीमा क्रिप्टोकरेन्सी स्विकार नगर्ने बताएको टेस्लाले आफुसँग रहेको बिटक्वाइन पनि नबेच्ने प्रष्ट पारेको छ।गत महिना मात्रै टेस्लाले चालू वर्षको पहिलो त्रैमासिकको मुनाफा सार्वजनिक गरेको थियो । सन् २०२१ को पहिलो तीन महिनामा टेस्लाले ४३ करोड ८० लाख डलर मुनाफा गरेको छ र यसमा बिटक्वाइन बिक्रिबाट आर्जन भएको नाफाको हिस्सा पनि उल्लेख्य छ ।

स्मरण रहोस् विश्वमा क्रिप्टोकरेन्सीहरुको वकालत गर्ने हाइप्रोफाइल व्यक्तिहरुमध्येमा एक पर्दछ उनी । मस्कले बिटक्वाइन तथा अर्को डिजिटल मुद्रा डोगेक्वाइनका बारेमा पनि प्रायः ट्वीट गरिरहेका हुन्छन्।हालैका महिनाहरुमा मस्कले गरेको ट्वीटकै कारणले सोसल मिडियामा मजाकको विषयको रुपमा सुरुवात भएको क्रिप्टोकरेन्सी डोगेक्वाइन अहिले विश्वको चौथो ठूलो क्रिप्टो करेन्सीबनिसकेको छ ।

    बिटक्वाइन र वातावरणीय चिन्ता

बिटक्वाइनमा माइनिंग तथा कारोबारका लागि उच्च क्षमतायुक्त कम्प्युटरहरुको प्रयोग हुन्छ र यसमा ठूलो परिमाणमा उर्जाको खपत हुन्छ । बिटक्वाइन माइनिंगका लागि आवश्यक बिजुलीको ठूलो हिस्सा कोइला जस्ता अनविकरणीय श्रोतबाटै उत्पादन गरिएको हुन्छ । चिनिया माइनरहरुको बाहुल्यता रहनु तथा सस्तो जिवांश इन्धनबाट महंगो नविकरणीय उर्जाको प्रयोगमा लैजानका लागि उत्प्रेरणाको कमी हुनुका कारणले बिटक्वाइनलाई वातावरणविदहरुले चिन्ताको विषय मान्दै आएका छन् । विश्वमा हुने कूल बिटक्वाइन माइनिंग मध्ये ७५ प्रतिशत त चीनमै हुने गरेको छ ।
बिटक्वाइनको कार्वन उत्सर्जन चीनका सबैभन्दा ठूला १० सहरमध्ये झण्डै एउटा सहरजत्तिकै छ ।बिटक्वाइन मानइरहरुले प्रयोग गर्ने विजुलीको अधिकांस हिस्सा कोइला लगायतका जिवांश इन्धनबाटै उत्पादन हुने गर्दछ ।