बुधबार, बैशाख १२, २०८१

भारतमा कोरोना संक्रमण र मृत्युदर घट्दै,विश्वमा १३ करोड ९६ लाख संक्रमणमुक्त

भारत । छिमेकी मुलुक भारतमा दैनिक बढ्दो रुपमा देखिएको कोभिड–१९ को संक्रमणदर र मृत्युदरमा केही कमी आएको छ ।

दैनिक चार लाख भन्दा बढी संक्रमित थपिने गरेकोमा पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार २३९ जनामा संक्रमण पुष्टि भएको छ । विहीबार ३ लाख ६२ हजारभन्दा बढीमा स‌ंक्रमण पुष्टि भएको थियो । हालसम्म भारतमा संक्रमितको संख्या २ करोड ४० लाख ४६ हजार १२० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ९९९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या २ लाख ६२ हजार ३ सय ५० पुगेको छ ।

भारतसँगै ब्राजिलमा पनि तीव्र रूपमा फैलिएको संक्रमणमा केही कमि आएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जनाको मृत्यु भएका छन् भने ७५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।

हाल विश्वभर कोभिडबाट ३३ लाख ५८ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ भने १६ करोड १८ लाख २४ हजार ४ सय ७७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १३ करोड ९६ लाख २२ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।