शुक्रबार, बैशाख ०७, २०८१

दोलखा समाज जापानको आर्थिक सहयोगमा स्वास्थ्य सामग्री वितरण

जापान । दोलखा समाज जापानको आर्थिक सहयोगमा युवा संजाल जिरीले कोरोना जोखिम न्यूनीकरण अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ ।
समाजको सहयोगमा प्राप्त सामग्री युवा संजाल जिरीको व्यवस्थापनमा जिल्लाभर फ्रन्ट्लाइनरमा जोखिममा रहेर कोरोना कहरबिच खटिने विभिन्न संस्था तथा स्वयंसेवकहरुलाई बितरण गरेको हो ।

बिशेष गरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा बालबालिकालाई मास्क,सेनिटाइजर,फेस सिल्ड,खाद्यान्न लगायतका सामग्री वितरण गरिएको छ । युवा संजाल जिरीका कोषाध्यक्ष जगदीश खड्काले नेपाल पत्रकार महासंघ दोलखालाई ५ सय थान मास्क,२५ पिस फेस सिल्ड पत्रकार महासंघका अध्यक्ष दीपशंकर चौलागाईंलाई हस्तान्तरण गरेका छन् । त्यसैगरी प्रस्तावित चरिकोट अस्पताललाई १५ सय थान मास्क,५ लिटर सेनिटाइजर सहयोग गरेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय दोलखालाई एक हजार थान मास्क र ५ लिटर सेनिटाइजर सहयोग गरेको छ भने,इलाका प्रहरी कार्यालय सिगंटिलाई एक हजार थान मास्क,५ लिटर सेनिटाइजर, तारादल गण दोलखाका नेपाली सेनाको लागि एक हजार थान मास्क र आवाज नेपाल दोलखालाई ५ सय थान, मास्क,साबुन तथा खाद्यान्न सोमबारनै वितरण गरिएको छ । त्यसैगरी गौरीशंकर बालगृहका बालबालिकालाई पनि स्वास्थ्य सामाग्री खाद्यान्न सहयोग गरेको छ । संजालले मंगलबार जिल्ला अस्पताल जिरीमा १००० थान सर्जिकल मास्क र पाँच लिटर सेनिटाइजर बितरण गर्नेछ भने युवा संजाल जिरी मार्फत २५०० सर्जिकल मास्क, १५ लिटर सेनिटाइजर, हातधुने साबुन सहित २०० लिटरको पानी ट्यांकी अत्यावश्यक तीन स्थानमा ब्यवस्थापन गर्नेछ ।

दोलखा समाज जापानको एक लाख ४५ हजारको स्वास्थ्य सामाग्री खरिद गरि दोलखामा सहयोग गरेको युवा संजाल दोलखाका अध्यक्ष केन्द्र ज्योति खड्काले जानकारी दिनुभयो ।

दोलखा समाज जापानका अध्यक्ष महेश खड्काले आफ्नो जिल्लामा बढ्दै गएको महामारी संकटमा सहयोग गर्न पाउँदा जिल्लाबासीमा केही राहत पुग्न सक्ने बताउनुभयो । त्यसैगरी सबै स्थानीय तहका अति जोखिम क्षेत्रहरूमा तत्काल कोरोना न्यूनीकरण सामग्री वितरण गरि सामाजिक उत्तरदायित्व निर्वाह गर्न दोलखा समाज जापान संदैब तत्पर रहेको महासचिव शैलेन्द्र खड्काले बताउनुभयो ।