बिहिबार, बैशाख ०६, २०८१

कुरै नबुझी खोपमा भ्रष्टाचार भयो भनेर नकारात्मक प्रचार गरियो : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कमिशनका कारण खोप खरिद प्रक्रिया अवरुद्ध भएको भन्दै अनर्गल प्रचार गरिएकोमा आपत्ति जनाएको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अहिलेसम्म जीटुजीमार्फत जम्मा २० लाख डोज खोप खरिद गरिएकाले त्यसमा कमिशन खाने कुनै विषय नभएको बताएका हुन् ।

उनले नेताहरुलेसमेत कुरै नबुझी आत्मरतिका लागि नकारात्मक प्रचार गरेको बताए । सोमबारको संसद बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले खोप खरिदमा भ्रष्टाचार भएको विषय उठाएका थिए । मन्त्री त्रिपाठीले प्रतिडोज चार डलरमा खोप खरिद गरिएको र अहिले त्यही दरमा कसैले खोप ल्याए सरकार एक करोड डोज खोप खरिद गर्न तयार रहेको बताए ।

उनले भारतको सिरम इन्ष्टिच्यूटमा भएको आगलागी र भारतमा महामारी बढेपछि भारत सरकारले खोप निर्यातमा प्रतिबन्ध लगाएका कारण खोप आउन ढिला भएको बताए । उनले भारत सरकारले खोप उत्पादक कम्पनीलाई २० प्रतिशत निर्यात गर्न पाउने अनुमति दिएको र सिरमले पनि त्यो अनुमति प्राप्त गरेमा पहिलो खेप नेपाल आउने जानकारी गराएको उनले बताए ।
त्यस्तै सरकारले खोप खरिदका लागि अन्य मुलुकसँग पनि वार्ता र छलफल गरिरहेको जानकारी दिए । मन्त्री त्रिपाठीले खोपको उपलब्धताका विषयमा नेपालका लागि अमेरिकी राजदूत, रुसी राजदूत र रुसी प्रतिनिधिमण्डलसँग सकारात्मक वार्ता भएको जानकारी दिए । उनले वार्तापछि छिट्टै खोप उपलक्ध हुने अपेक्षा गरिएको बताए । त्यस्तै उनले नेपालका लागि वेलायतका राजदूतले अक्सफोर्डको खोप उपलव्धता गराउने बचन दिएकोमा त्यहाँ महामारी बढेकाले केही पछाडि धकेलिएको बताए ।

मन्त्री त्रिपाठीले कोभ्याक्सले प्राप्त गर्ने खोप सिरम इन्ष्टिच्यूटबाट पाउने भएकाले कोभ्याक्स आफैं अप्ठ्यारोमा परेकाले कोभ्याक्सको खोप आउन ढिला हुने बताए । उनले चीनसँग पनि खोप खरिदका लागि परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढेको जानकारी दिए । ।