यो सरकार गठन भएदेखि नै संविधान उल्लंघन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति यो अवस्थामा आइपुग्नुमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार भएको आरोप लगाएका छन् ।सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले आफू संविधान भन्दा माथिको व्यक्ति हुँ भन्ने प्रधानमन्त्रीको दम्भले मुलुकको राजनीति अप्ठ्यारोमा परेको बताएका हुन् ।

सरकारको तीन वर्षको मूल्यांकन गर्दा ओली सरकार पूर्णरुपमा असफल भएको बताए । उनले आफूहरुले सरकारलाई पूर्णरुपमा सहयोग गर्दा आफूहरु आलोचित बनेको तर प्रधानमन्त्रीले त्यसलाई कमजोरीको रुपमा लिई संविधान विपरितका काम गर्दै गएको बताए । उनले यो सरकार गठन भएदेखि नै संविधान उल्लंघन भएको बताए ।

सभापति देउवाले कुनैपनि व्यक्ति प्रधानमन्त्री हुन पहिला संसद सदस्य हुनुपर्ने तर प्रधानमन्त्री ओलीले संसद सदस्यको सपथ नलिई प्रधानमन्त्रीको सपथ लिएको बताए । त्यस्तै संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्नेमा त्यसलाई अनुशरण नगरेको बताए । जनतालाई अक्सिजनसमेत दिन नसक्ने प्रधानमन्त्रीले विश्वासको मत माग्नु निर्लज्जता भएको बताए ।

जनताको जीवन रक्षामा लाग्नु पर्ने सरकार औषधि खरिदको भ्रष्टाचारमा लाग्नु अक्षम्य अपराध भएको देउवाले बताए । उनले भने,‘व्यापारी घरानालाई पोस्नु कतिसम्म सकेको ? आफ्ना जनतालाई अक्सिजनको व्यवस्था गर्न नसक्ने निरिह प्रधानमन्त्रीले आत्मप्रशंसा गर्नु कति उचित होला ?’ उनले प्रधानमन्त्रीले संविधान अनुरुप काम गरेको भए अहिलेको अवस्था सृजना नहुने र फेरि पनि दम्भ नघटेको बताए ।

उनले भने, ‘संसद विघटन गर्नुभयो । हामीले असंवैधानिक भनेर आन्दोलन गर्यौं । पुनस्थापनापछि नैतिकताका आधारमा राजीनामा गर्नुपर्नेमा त्यो आवश्यकता देख्नुभएन । विधि र पद्दतिलाई ध्वस्त पार्ने प्रसस्त काम भएका छन् । राज्यका महत्वपूर्ण निकाय आफू मातहत राख्ने, हुकुमी शैलीमा शासन चलाउने काम भए । ससद छललेर अध्यादेश मार्फत शासन गर्ने दम्भ बढ्यो । काम कर्तव्य र अधिकारलाई भुलेर काम गरेको सासद अपहरण जस्ता काम भए । संविधान भन्दा म माथि हुँ भन्ने दम्भ प्रधानमन्त्रीमा छ।’

उनले कोभिड संक्रमण फैलिनुमा प्रधानमन्त्री जिम्मेवार भएको आरोप लगाए । निर्माण पूरा नभएको धरहरा उद्घाटन तामझामका कारण गरेको भन्दै उनले मान्छे भीड गरेर उहाँले कोभिड फैलाउने काम गरेको आरोप लगाए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: