शुक्रबार, बैशाख ०७, २०८१

उत्तरदायीपूर्ण सरकार दिन संसद्सँग बृहत् नागरिक आन्दोलनको आह्वान

काठमाडौं । बृहत् नागरिक आन्दोलनले कोरोना संक्रमणको दोस्रो लहरले धेरैको मृत्यु हुनका साथै जनजीवनमा गम्भीर प्रभाव पार्नुमा राज्यसंयन्त्रलाई युद्धस्तरमा तम्तयार गर्न अक्षम राजनीतिक नेतृत्व पूर्णतः दोषी रहेको ठहर गरेको छ ।

बिहीबार लिखित टिप्पणी सार्वजनिक गर्दै नागरिक आन्दोलनले यो विपद् सामना गर्ने तदारूकताका लागि सरकारलाई उत्तरदायीपूर्ण बनाउन अथवा उत्तरदायीपूर्ण सरकार दिन संसद्सँग आह्वान गरेको छ ।

संक्रमणको रोकथाम र नियन्त्रणका प्रारम्भिक कार्यप्रति समेत उदासीन सरकारले निषेधाज्ञालाई थप कडा बनाउँदा पनि अत्यावश्यक सेवा र विपन्न वर्गको दैनिक गुजारा सुनिश्चित गर्न नसकेको भन्दै नागरिक आन्दोलनले महाव्याधिबीच सुशासन सबैभन्दा निर्बल हुन पुगेको प्रस्ट पारेको छ ।

उसले यसपटक दोस्रो लहरमा कोभिड–१९ विरूद्व खोप समयमै आयात गर्न दाखिला भएको रकमको समेत डोज आउन नसक्ने गरी प्रधानमन्त्री निकट भनिएका घरानाहरूबाट कमिसनको भाँजो हालिएको स्वास्थ्यमन्त्रीको स्वीकारोक्तिले गम्भीर अनुसन्धान अनिवार्य भएको बताएको छ ।