बिहिबार, बैशाख ०६, २०८१

कोरोनाविरुद्धको लडाइँलाई प्रभावकारी वनाउनुको साटो सरकार सत्ताको झिनाझपटमै अल्मलियो:कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकार महामारीविरुद्धको लडाइँलाई प्रभावकारी वनाउनुको साटो सत्ताको झिनाझपटमै अलमलिएको भन्दै आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी सरकार महामारी रोकथाम र नियन्त्रण गर्न आवश्यक कदम चाल्नुको साटो विधमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले महामारी नियन्त्रणमा लागेर जनतामा ढाडस दिनुपर्नेमा सन्त्रास फैलाउन र आफ्नो जिम्मेवारीवाट भाग्ने प्रयास गरेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘दिन प्रतिदिन वृद्धि भैरहेका संक्रमितहरुको उपचारकालागि आवश्यक अस्पताल वेड,आइसु वेड, भेन्टिलेटर लगायतका स्वास्थ्य पुर्वाधार , अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामाग्रीको जोहो गर्न समेत सरकार असफल देखिन्छ। त्यस्तै कोरोना महामारीको मौका छोपेर वजारमा आवश्यक बस्तुहरूको अभाव शृजना गरि मुल्य बृद्वी र कालाबजारी गर्ने कार्यलाई रोक्न सरकारले आवश्यक पहल कदमी लिन नसकेको देखिन्छ ।’

कांग्रेसले संक्रमण बढ्नुमा सरकार र त्यसमा पनि प्रधानमन्त्री जिम्मेवार रहेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अघिल्लो वर्ष २०७६ सालको पुस महिनामा नै शुरू भएको कोरोना महामारीले व्यापक रूपमा जनधनमा पुर्याएको क्षति र मुलुकको अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई यो सरकार नजरअन्दाज गरेको , पार्टीको आन्तरिक द्वन्दलाई मात्र महत्व दिएर विभिन्न स्थानहरूमा आमसभा, भेला गर्ने , शिलान्यास र उद्घाटन को नाममा प्रधानमन्त्री आफै भिड जम्मा गर्न उद्धत रहेको कारण पनि कोराना संक्रमण वढाउन सरकार आफै जिम्मेवार रहेको देखिन्छ ।’