महामारीका बेला सत्ता टिकाउन महन्थ ठाकुरदेखि देउवाको दैलोसम्म धाउने दृश्यहरू कत्ति पनि प्रिय छैनन्

नारायण गाउँले ।

अपराधीहरूलाई पुरस्कृत गर्दै मुद्दा फिर्ता लिने, अल्पमतको व्यक्तिलाई कोठामैं गएर बहुमतको मुख्यमन्त्री भन्दै शपथ खुवाउने, भ्रष्टाचारले मुलुक थला परेको बेला गोकुल बाँस्कोटाहरूलाई छानबिन गर्नुको साटो निर्लज्ज रूपमा छानबिन गर्ने समितिमा लैजाने, झन्डै दुई तिहाइ बामबहुमत त टुक्रा-टुक्रा त भयो नै, देशलाई एकढिक्का बनाएर लैजानुपर्ने समयमा अन्य दल र नागरिक समाजमा समेत विग्रह र विभाजन ल्याउन षड्यन्त्र गर्ने, सिङ्गो विश्वले सामाजिक दूरी कायम गर्न जोड़ दिइरहेका बेला आफ्नै पार्टीका विरुद्ध आमसभा र राज्यकोष खर्च गर्दै भीड़ बटुलेर सङ्क्रमण फैल्याउने, एमसिसीबाहेक अर्को विधेयक संसदमा नल्याउने र संसदलाई पङ्गू बनाई अध्यादेशबाटै सरकार चलाउने र यो वैश्विक महामारीका बेला सत्ता टिकाउन महन्थ ठाकुरदेखि देउवाको दैलोसम्म धाउने दृश्यहरू कत्ति पनि प्रिय छैनन् ।

यतिबेला कम्तिमा एमालेलाई सिङ्गो राख्न र ओलीकै कुर्सी बचाउन गर्नुपर्ने धेरै ठूलो कुरो पनि रहेनछ । एमालेलाई विघटन गर्दै नेकपा बनाएका ओलीले महाधिवेशनबाट एमाले जस्तो बनेको थियो त्यस्तै स्वीकार गर्ने हो भने यो एकढिक्का हुने रहेछ । देश पनि राजनैतिक दुर्गन्ध र षड्यन्त्रबाट अलिकति उठेर मानवीय विपत्तितिर लाग्न सक्ने रहेछ । यतिबेला नेपाल पक्षले न ओलीको राजीनामा मागेको छ, न महन्थ ठाकुरले जस्तो ठूलो भाग मागेको छ । महाधिवेशनबाट निर्वाचित नेताहरूको जिम्मेबारी यथावत् होस् भन्ने जस्तो सामान्य मागमा पनि वैयक्तिक ईगो र रिसीबी साँधेर विभाजनलाई मलजल गर्ने काम किन गर्नुपरेको होला ?

एउटा पक्षका सबैको जिम्मेबारी आफूखुशी खोस्ने र आफ्नालाई बाँड्ने प्रवृत्तिले पनि पार्टी चल्छ र ? आफ्ना चाटुकारबाहेक अन्यलाई कुनै अवसर र जिम्मेबारी नदिने भन्ने पनि हुन्छ र ?

कुलमान घिसिङ्ले एक कार्यकाल थप पाऊन् भन्ने आमजनताको चाहना थियो, कम्तिमा प्रमाणसहित नै नाङ्गिएका गोकुल बाँस्कोटामाथि छानबिन होस् भन्ने जनचाहना थियो तर भयो के ? सधैँ लगौंटी धुनेमात्रै योग्य हुने हो ?कोरोनाको पहिलो लहर शान्त भएपछि सरकारले विश्वभर अवश्यम्भावी बनेको दोस्रो लहरका लागि तैयारी गरोस् भन्ने जनचाहना थियो, तर भयो के ? सांसद किनबेच, अड्डाअदालत, तेरो-मेरो र जिन्दाबाद-मुर्दाबादमैं यत्रो वर्ष बित्यो ।

सिङ्गो सङ्घीय व्यवस्था र कम्युनिस्ट पार्टीहरू प्रति नै आमजनतामा वितृष्णा पैदा हुने अवस्थाको जिम्मा माधव नेपालको टाउकोमा चढ़ाएर आफूलाई चोखो बताई रहँदा केही चाटुकारको आँखामा त हीरो बनिएला तर त्यसले न देशको हित गर्छ न एमालेकै । ओलीले नेकपा बनाउनुअघि एमाले जस्तो थियो त्यस्तै बनाऊँ भन्ने आफ्नै पार्टीका सहकर्मीको सामान्य माग पनि पूरा नगर्ने तर हिजो अदालत र आफैले अपराधी मानेकाहरूलाई धमाधम फूलमाला सहित रिहाई गर्ने ओलिटिक्स ताली बजाउनुपर्ने खालको पोलिटिक्स होइन ।

देशका नागरिक दिनहुँ मृत्युको उकालो लाग्दो आँकडाले भयावह बनिरहेका बेला बर्सौंदेखि देशैभर कुर्सीका लागि भइरहेको यो नाङ्गो नाचको हिसाब त समयले राख्ला नै !

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: