शनिबार, बैशाख ०८, २०८१

एनआरएनए जापान क्युस्यु क्षेत्रको ७औं अधिवेशन जुन ५ तारिख गर्ने, संयोजकको लागि एक लाख येन

विष्णु रोकाया,फुकुओका । गैरआवासीय नेपाली संघ एनआरएनए जापान क्षेत्रीय कार्यसमिति क्युस्युको ७औं अधिवेशन जुन ५ तारिख गर्ने भएको छ । एनआरएनए, जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको मे ३ तारिख सोमबार बसेको बैठकले २०२१ जुन ५ तारिख ७औं अधिवेशन गर्ने निर्णय गरेको हो ।

एनआरएनए राष्ट्रिय समन्वय समिति जापानले मे १५ देखि जुन १५ सम्म जापानका सम्पुर्ण क्षेत्रीय कार्यसमितिहरुलाई अनिवार्य रुपमा अधिबेशन सम्पन्न गर्न भनि दिएको निर्देशन बमोजिम क्युस्यु क्षेत्रीय कार्यसमितिको बैठकबाट जुन ५ मा अधिबेशन गर्ने निर्णय गरिएको क्युस्यु क्षेत्रीय कार्यसमितिका संयोजक देबराज उप्रेतीले जानकारी दिनुभयो ।

कार्यसमिति चयनमा सहमति नभएको खण्डमा भने एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदद्धारा निर्माण गरिएको एमआईएस सिस्टमबाट जुन ८ तारिखका दिन अनलाइन भोटिङ् मार्फत हुने निर्णय भएको छ ।

संस्थाका संयोजक उप्रेतीको अध्यक्षतामा बसेको बैठकले सल्लाहकारद्वय टंक गैरे र धर्मराज अधिकारी रहेको निर्वाचन कमिटी बनाएको छ । त्यस्तै निर्वाचन तयारीका लागि सन्तोष थापाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन कमिटी बनाएको छ । निर्वाच समितिको सदस्यहरुमा लक्ष्मण बानियाँ, छत्र दाहाल, किरण बर्मा र देवराज उप्रेती चयन भएका छन ।

यस्तै राष्ट्रिय समन्वय परिषद जापानले पनि प्रत्येक क्षेत्रीय समितिको आगामी अधिबेशनको लागि महाधिबेशन अनुगमन समिति पनि चयन गरेको छ । जस बमोजिम क्यूस्यु क्षेत्रको अधिबेशन अनुगमन समितिमा केन्द्रिय कार्यसमितिका सदस्य दय रामकृष्ण श्रेष्ठ, सुपेन्द्र घिसिङ र केन्द्रिय महिला संयोजक संगीता अधिकारी सुबेदीलाई यसअघि नै चयन गरिसकेको छ ।
कार्य समितिको बैठकबाट उम्मेद्धारी शुल्क पनि निर्धारण गरिएको छ । उक्त बैठकबाट उम्मेद्धारी शुल्क संयोजकको लागि शुल्क १० मान अर्थात एक लाख येन, उपसंयोजकको ८ मान अर्थात ८० हजार येन, सचिवको लागि ६ मान अर्थात ६० हजार , कोषाध्यक्षको ५ मान अर्थात ५० येन, सह(कोषाध्यक्ष ४ मान अर्थात ४० हजार येन निधारण गरिएको छ भने सदस्य पदको लागि २ मान अर्थात २० हजार येन निधारण गरिएको विज्ञप्तिमा उल्लेख छ ।