शुक्रबार, चैत १६, २०८०

अक्सिजन उत्पादक कक्पनीहरूमा विद्युत् आपूर्ति अवरोध हुन नदिन ‘हाई अलर्ट’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा स्थापना भएका अक्सिन उद्योगलाई उच्च प्राथमिकतामा राखेर विद्युत् प्रवाह गरेको छ ।
कोरोना महामारीका बेला देशभरका अस्पतालमा अक्सिजनको मात्रा कम रहेको अवस्थामा ती उद्योगको आपूर्तिमा विशेष ध्यान दिइएको हो ।

कोरोनाका कारण दिनहुँ विरामी थपिरहेको र अक्सिजन नपाएकै कारण कतिको मृत्युसमेत भइरहेको छ । यस्तो जटिल अवस्थामा अक्सिजन पहिलो आवश्यकता हो । यसैले यी उद्योगको विद्युत् आपूर्तिमा कुनै अवरोध वा ट्रिपिङ नहुने व्यवस्था मिलाएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

‘अक्सिजन उत्पादक उद्योगले निरन्तर काम गर्न सकून, उत्पादन बढोस् र त्यहाँ कुनै पनि खराबी नआओस् भनेर कर्मचारीलाई त्यही अनुसार ‘हाई अलर्ट’मा राखिएको उनले बताए । अक्सिजन नपाएकै कारण व्यक्तिको ज्यान जोखिममा पर्नु दुःखद भएको भन्दै यस कारण त्यस्ता उद्योगलाई अहिले बढी महत्त्व दिनु पर्ने र दिइरहेको पनि उनले बताए ।

शाक्यका अनुसार अहिले दुहबी ग्रिडअन्तर्गत विद्युत् आपूर्ति लिने फिडरहरूमा कुनै पनि बेला आउन सक्ने खराबीलाई ध्यान दिँदै उच्च सतर्कता अपनाइएको छ । विराटनगर–१ मा ११ केभी फिडरबाट आपूर्ति हुने हिमाल अक्सिजन, विराटनगर–३ मा ३३ केभी फिडरबाट आपूर्ति हुने मारुती अक्सिजन उद्योगमा निरन्तर आपूर्ति व्यवस्था मिलाइएको छ ।

यसैगरी, तरहरा–१ मा ११ केभी फिडरबाट आपूर्ति हुने विनायक अक्सिजन, विराटनगर–२ मै ११ केभी फिडरबाट आपूर्ति हुने पाथिभरा अक्सिजन र पुरानो खनार ३३ केभी फिडरबाट आपूर्ति लिने दुर्गा अक्सिजनमा पनि विद्युत् आपूर्ति नियमित गरिएको छ ।
हावाहुरी तथा प्राविधिक कारणले हुने ट्रिपिङ वा अवरोध भए तुरुन्तै मर्मत गरी आपूर्ति सुचारु गर्ने गरिएको पनि शाक्यले बताए ।