शुक्रबार, चैत १६, २०८०

जापानमा कोरोना संक्रमित ६ लाख नाघ्यो, १०,३९८ जनाको निधन

टोकियो । जापानको चार प्रान्तमा तेस्रो पटक आपतकाल घोषणाको हप्तादिन पुरा हुँदा कोरोना भाईरसका संक्रमित ६ लाख नाघेको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार देशभर हाल १ हजार ५० जना कोभिड १९ का बिरामी भेन्टिलेटर वा गम्भिर हेरचाहमा रहेका छन् । यसअघि यस्ता बिरामीको सर्वाधिक संख्या गत जनवरी २७ मा १ हजार ४३ पुगेको थियो ।
मे २ तारिखमा पछिल्लो २४ घण्टामा देशभर ५८ सय ७९ जना कोरोनाका बिरामी थपिएका छन् । यसैगरि यो अवधिमा ५९ जना कोरोना भाइरसबाट संक्रमित भएका बिरामीले प्राण गुमाएको सरकारी तथ्यांकलाई उद्दृत गर्दै एनएचके समाचारमा खवर छ ।

यसैगरि कोरोना भाइरसबाट संक्रमित भएका कुल बिरामीको संख्या ६ लाख नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जापानमा ताजा विवरण अनुसार कुल संक्रमितको संख्या ६ लाख ५ हजार ५ सय ७६ पुगेको छ ।

कोरोना भाइरसबाट संक्रमित हुन पुगेका ५ लाख २७ हजार ८ सय ९२ जना निको भइसकेको  छ भने १० हजार ३ सय ९८ जनाको निधन भएको तथ्यांकमा उल्लेख छ ।