शुक्रबार, बैशाख ०७, २०८१

काठमाडौं उपत्यकामा निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाइ

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको निषेधाज्ञाको आज चौथो दिन थप कडाई गरिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा प्रशासनले लगाएको निशेधाज्ञामा आइतबारदेखि थप कडाइ गरिएको हो ।

सडकमा सवारी साधन तथा नागरिकको आवत–जावत नघटेको भन्दै प्रशासनले थप कडाइ गरेको हो । उपत्यकामा कार्यालय समयमा सवारी चाप देखिएको छ, भने अन्य समय अत्यावश्यक बाहेकका सवारी चलेका छैनन् ।

कोरोना भाइरस संक्रमणको दर तीब्र रुपमा बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले गत विहीबारदेखि एक सातासम्म निषेधाज्ञा लगाएका छन् ।

सडकमा ट्राफिक प्रहरीले अत्यावश्यक परेका बाहेक अन्यलाई जथाभावी हिँडडुल गर्न पनि रोक लगाइरहेको छ । त्यस्तै, खाद्यान्न र औषधि पसलबाहेक सबै पसल बन्द रहेका छन्, भने शैक्षिक संस्था पनि बन्द रहेका छन् ।