शुक्रबार, चैत १६, २०८०

लुम्बिनीको विशेष अधिवेशन आजदेखि,मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि भोलि मतदान

बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि शुरु हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश हुनेछ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ । प्रस्तावमा विभिन्न दलका सांसदले आफ्नो धारणा राख्नेछन्। त्यसपछि मुख्यमन्त्री पोखरेलले सोमबार जवाफ दिनेछन् । मुख्यमन्त्रीले जवाफ दिएपछि मतदान हुने कार्यसूची तय गरिएको छ ।

शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले कोरोना संक्रमणको कारण एकै दिनमा प्रस्तावको टुंगो लगाउन भनेका थिए ।

तर एमालेले असहमति जनाएपछि दुई दिनमा टुङ्गो लगाउने कार्यसूची तय गरिएको हो । बैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। हस्ताक्षर गरेका मध्ये जनता समाजवादी पार्टीका तीन सांसद मन्त्री बनेका छन्। यी तीनसहित जसपाका चारजना पदमुक्त भइसकेका छन् ।

यस अघि ८७ सदस्य रहेको प्रदेशसभामा अब ८१ सांसद भएका छन्। अविश्वासको प्रस्ताव पारित हुन ४१ सांसद आवश्यक पर्दछ। सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद छन्। कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाही पछि जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

एमालेबाट फ्लोर क्रस नभए मुख्यमन्त्री पोखरेल सुरक्षित छन् । तर कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस भए मुख्यमन्त्री पोखरेललाई अप्ठेरो पर्नेछ ।